पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ६ हजारभन्दा बढी विद्यार्थी दीक्षित

वैशाख ८, २०८३ |अर्जुन सुवेदी
पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ६ हजारभन्दा बढी विद्यार्थी दीक्षित

सुनसरी । पूर्वाञ्चल विश्वविद्यालयको चौधौं दीक्षान्त समारोहमा ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित भएका छन् । 

विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पौडेलको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउ मोरङमा मंगलबार चौधौं दीक्षान्त समारोह सम्पन्न भएको हो ।

विश्वविद्यालयका अनुसार विभिन्न संकायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफील तहका विद्यार्थी दीक्षित भएका हुन् । स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तर तहबाट १ हजार ४ सय १३ तथा एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयका अनुसार सबैभन्दा बढी व्यवस्थापन संकायबाट २ हजार २ सय ६४ जना विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, इन्जिनियरिङ संकायबाट १ हजार २ सय ६२, विज्ञान तथा प्रविधि संकायबाट ७ सय ४७, कानुन संकायबाट ६ सय २२ र चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानबाट ६ सय २४ जना विद्यार्थी दीक्षित भएका छन् । 

शिक्षा संकायबाट ९ सय ९८ जना तथा मानविकी संकायबाट १ सय ८४ जना विद्यार्थीले दीक्षित भएका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोस्ट ग्रजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च चण्डिगढ भारतका डाइरेक्टर प्राध्यापक डा. विवेकलालले नेपाली विद्यार्थीहरूको लागि पूर्वाञ्चल विश्वविद्यालयले सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गरेर योगदान दिएको बताउनुभयो ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।