नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट र बौदीकाली गाउँपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पाँच वर्षे विद्यालय सुधार योजना लागू भएको छ।
जसले गर्दा सामुदायिक विद्यालयमा निजी शैक्षिक संस्थाको झल्को दिने कक्षा कोठा र शैक्षिक वातावरण बनेको छ। चिटिक्क परेका कक्षा कोठा, कक्षाको भित्ताभरी बालबालिका आकर्षित गर्ने चित्र, अध्ययनका लागि अक्षर अनि रमाइलोको लागि कार्टुन कला पनि।
कक्षाकोठाको वातावरण देखेर पनि बालबालिका रमाइरहेको दृश्य । यो कुनै निजी विद्यालयको मन्टेश्वरी कक्षाको वातावरण होइन। यो त पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-१ को सूर्यज्योति माध्यमिक विद्यालयको पूर्वप्राथमिक तहको कक्षा कोठाको वातावरण हो। सिकाइ परियोजनाले पहाडी र दुर्गम मानिने क्षेत्रका सामुदायिक विद्यालयमा सुधार आएको छ।
विद्यार्थीको न्यून उपस्थिति र कमजोर भौतिक पूर्वाधारका कारण सुस्त रहेका यी विद्यालयमा अहिले 'सिकाइ परियोजना' ले नयाँ रौनक थपेको छ। पहाडी भेगबाट बसाइँ सरेर बजार आउने क्रम बढ्दो र गाउँमै रहेकाहरू पनि सरकारी विद्यालयको भौतिक अवस्थाबारे चिन्तित थिए। तर, अहिले सिकाइ परियोजना लागू भएपछि विद्यार्थीको शैक्षिक, अतिरिक्त क्रियाकलाव र ठूला कक्षाका विद्यार्थीमा सीप सिकाइको पनि काम हुँदा सामुदायिक विद्यालयमै बालबालिकाको चौतर्फी विकासमा टेवा पुगेको छ।
विद्यालय सुधार योजना, कमजोर विद्यार्थीको लागि छुट्टै शिक्षकको व्यवस्था गरेर उपचारात्मक कक्षा, व्यवस्थित शौचालय, छात्राहरूका लागि सेनेटरी प्याड बनाउने तालिम र मेसिनबाटै प्याड लिन सकिने व्यवस्था गरेपछि कक्षा ५ सम्म भर्ना हुने विद्यार्थीको संख्या बढेको छ।
राइट फर चिल्ड्रेन पोखराले जिल्लाको हुप्सेकोट र बौदीकाली गाउँपालिकाको सहकार्यमा पाँच वर्षे परियोजना लागू गरेको छ। स्थानीय तहले अहिले भौतिक संरचनामा मात्र जोड नदिइ शिक्षण पद्धतिमा पनि सुधार गर्ने योजना ल्याएको छ। ८ वटा विद्यालयमा सञ्चालित उपचारात्मक कक्षा सञ्चालनमा आएसँगै कमजोर विद्यार्थीको सिकाइ उपलब्धीमा १३ प्रतिशतले सुधार आएको छ।
दुर्गम बस्तीमा सञ्चालन भइरहेका सामुदायिक विद्यालयको सुधार लागि तय गरिएका योजनाको निरन्तरता र प्रभावकारी अनुगमन आवश्यक छ।