
कञ्चनपुर । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको नेतृत्वमा उच्चस्तरीय टोलीले सुदूरपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण तथा अनुगमन गरेको छ ।
मन्त्री पोखरेलसँगै प्रतिनिधि सभा सदस्य केपी खनाल, शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेललगायतको टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा पुगेर समग्र शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा व्यवस्थापन पक्षको अवलोकन गरेको हो ।
टोलीलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. यज्ञराज भट्ट तथा रजिष्ट्रार प्रा.डा. विनोद लेखकले स्वागत गर्दै विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती र आगामी योजनाबारे जानकारी गराउनु भएको छ ।
अनुगमनका क्रममा मन्त्री पोखरेलले सुदूरपश्चिम विश्वविद्यालयलाई प्रदेशकै शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा, अनुसन्धान र प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन निर्देशन दिनु भएको छ ।
उहाँले भन्नुभयो, “विश्वविद्यालयले स्थानीय आवश्यकतासँग जोडिएको शिक्षा प्रणाली विकास गर्नुपर्छ । गुणस्तर सुधार र रोजगारीमुखी कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिनुपर्छ ।” यसैगरी, मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालय व्यवस्थापनलाई पारदर्शीता, उत्तरदायित्व र दक्षता अभिवृद्धिमा केन्द्रित हुन आग्रह गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने बताउनु भयो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले विश्वविद्यालयले सीमित स्रोतसाधनका बीच पनि शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार विकासमा निरन्तर प्रयास गरिरहेको जानकारी गराउँदै सरकारबाट थप सहयोग अपेक्षा गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम विश्वविद्यालयलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अनुसार अघि बढिरहेका छौँ ।”
भ्रमण टोलीले विश्वविद्यालयका विभिन्न संरचना, कक्षा सञ्चालन अवस्था तथा प्रशासनिक कार्य प्रणालीको समेत अवलोकन गरेको छ । यस अनुगमनलाई विश्वविद्यालयको समग्र सुधार तथा विकासका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।