
सल्यान । पहाडी जिल्लाहरू एसईई परीक्षामा सहभागी हुने विद्यार्थी बर्षेनि घटिरहेका छन् ।
जसका कारण परीक्षा केन्द्रसमेत मर्ज गर्नुपर्ने अवस्था आएको छ । विद्यार्थी संख्या घट्नुको मुख्य कारणका रूपमा जन्मदर घट्नु, बढ्दो बसाइँसराइ र विषयगत शिक्षक अभाव देखिएको छ । सल्यानमा १० वर्षअगाडि २०७२ सालमा झन्डै ८ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए।
त्यसको पाँच वर्षपछि २०७८ सालमा घटेर झन्डै ६ हजार विद्यार्थी सहभागी भए। त्यसको पाँच वर्षपछि अर्थात् यो वर्ष घटेर ४ हजार १ सय ४२ जना परीक्षार्थी मात्र सहभागी भएका छन्। परीक्षा दिइरहेकामध्ये पनि २ सय ४ जना विद्यार्थी अनुपस्थित छन्। विगतमा २५ वटासम्म केन्द्र कायम गरेकोमा परीक्षार्थी घट्दै जाँदा हाल १९ वटा मात्र केन्द्र छन्।
पाल्पामा पनि एसईई दिने विद्यार्थीको हरेक वर्ष घट्दै गएका छन् । शिक्षा विकास तथा समन्वय इकाइको पछिल्लो पाँच वर्षको तथ्यांकमा जिल्लामा प्रत्येक वर्ष एसईईका परीक्षार्थी घट्दै गएको देखिएको हो । बिहीबारबाट सुरू यस वर्षको एसईईमा पाल्पाबाट साधारणतर्फ ३ हजार ३ सय ४६ र प्राविधिक धारतर्फ २१७ विद्यार्थी सहभागी छन् ।
पाल्पामा २६ केन्द्र रहेका छन् । गत वर्षको एसईईमा ४ हजार १२ विद्यार्थी सहभागी भएका थिए । प्यूठानमा यस वर्षको एसईईमा ४ हजार ३ सय ८५ विद्यार्थी सहभागी छन् । जसमध्ये ८ वटा विद्यालयका १६४ जना परीक्षार्थी प्राविधिक धारका हुन् । गत वर्ष १७ वटा केन्द्र तोकिएकोमा विद्यार्थी घटेपछि यो वर्ष दुईवटा केन्द्र रहेको गंगा मावि बाहानेमा एउटा केन्द्र कायम गरिएको छ ।
जन्मदर कम हुनु र बसाइँसराइले एसईईमा विद्यार्थीको संख्या घटेको सरोकारवाला बताउँछन् । घट्दो जन्मदर र बढ्दो बसाइँसराइ मात्रै नभइ विषयगत शिक्षक अभावले बिचैमा पढाइ सारेर अर्कै जिल्ला जाने विद्यार्थी पनि उल्लेख्य छन् । गरिबी र चेतना अभावले कक्षा छाड्ने अर्को समस्या छ ।
विद्यार्थी घट्दै जाँदा पहाडी जिल्लाहरूमा परीक्षा केन्द्रहरू पनि घटाइएको छ । जसले व्यवस्थापनमा सहजता ल्याए पनि स्थानीय स्तरमा पहुँचमा भने केही कठिनाइ थपिएको छ।