
काठमाडौं । देशभरका विभिन्न अस्पतालमा यस्ता शवहरू छन् जसलाई मेरो आफन्त भनेर दाबी गर्न कोही आएका छैनन् । जसको न नाम न वतन नै कसैलाई थाहा छ । प्रहरीको तथ्यांकअनुसार अस्पतालहरूमा यस्ता शव ७ सय ८८ वटा छन् । यी शवहरूको व्यवस्थापन कसरी हुन्छ त ?
काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा ८० वटा यस्ता शव छन् जसको न नाम न वतन कसैलाई थाहा छ । यी शव मेरा आफन्तका हुन् भनेर दाबी गर्न पनि कोही आएका छैनन् । अस्पतालका अनुसार यहाँ वर्षमा ५० वटाको हाराहारीमा पहिचान नखुलेका शव आउने गर्छ ।
ललितपुरको पाटन अस्पतालमा पनि यस्ता शव १६ वटा छन् ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ देखि हालसम्म कुल १६ सय ३४ वटा पहिचान नखुलेका शव फेला परेका छन् । जसमध्ये १ सय ३३ वटा शव पछि पहिचान भएर परिवारलाई बुझाइएको छ । ८४ वटा शव विभिन्न शिक्षण अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिएको छ भने ६ सय २९ वटा शव कानुनी प्रक्रिया पुर्याएर अन्त्येष्टि गरिएको छ । तर ७ सय ८८ वटा शव भने अझै पनि अस्पतालमा आफन्त कुरिरहेका छन् ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहिचान नभएका शवलाई १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ । तर नेपालका अस्पतालहरूमा क्षमता सीमित भएकाले शव यत्रो समय राख्न कठिन छ । जस्तो शिक्षण अस्पतालमा १ सय ५० वटा शव राख्न सक्ने क्षमता छ । तर क्षमता कम भएकाले ३ महिनादेखि बढीमा १ वर्षसम्म शव राख्ने गरिएको छ । १ वर्ष नाघेपछि प्रक्रिया पुर्याएर अन्त्येष्टि गरिने गरिएको छ । वर्षमा ३० वटाजति शव चाहिँ शिक्षण प्रयोजनका लागि देशभरका चिकित्सा शिक्षा अध्ययन संस्थानहरूमा पठाइन्छ ।
पाटन अस्पतालको शव राख्ने क्षमता २४ भएकाले यहाँ पनि बढीमा १ वर्षसम्म राखेर अन्त्येष्टि गरिन्छ । वर्षमा एउटा शव शिक्षण प्रायोजनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिन्छ ।
कुनै पनि स्थानमा पहिचान नखुलेको शव भेटिएको सूचना पाउनासाथ स्थानीय प्रहरीले त्यस्तो शवको उचित व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह र वडा प्रतिनिधिलाई जानकारी गराउँछ । यसपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ अनुसार स्थानीय तहको प्रतिनिधि र सम्भव भएसम्म स्थानीय नागरिकको रोहवरमा मुचुल्का उठाइन्छ । यसरी विभिन्न प्रकियापछि आफन्त पहिचान भएमा शव हस्तान्तरण गरिन्छ भने कोही नआएमा शवलाई नबिग्रने गरी विभिन्न अस्पतालमा राखिन्छ । अन्त्येष्टि गरिने शवको सम्पूर्ण विवरण अभिलेखीकरण गर्नुपर्ने हुन्छ । सर्वसाधारणले हेर्न मिल्ने गरी मृतकको फोटो र विवरण प्रहरीको अनलाइन पोर्टलमा समेत अपलोड हुन्छ । अध्ययनका लागि शिक्षण अस्पताल पठाइएका शवलाई भने पढाइ सकिएपछि सोही अस्पतालले नै अन्त्येष्टि गरी अभिलेख राख्नुपर्ने प्रावधान छ ।