
धनकुटा । कोशी प्रदेश सरकारले आउँदो चैत १९ गतेदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ वटै जिल्लामा केन्द्राध्यक्ष, निरीक्षक तथा सहायक कर्मचारीहरूको छनोट कार्य सम्पन्न भइसकेको छ। विद्यार्थीलाई सहज बनाउन परीक्षा केन्द्र नजिकै बसोबासको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरिएको निर्देशनालयका प्रमुख कृष्णप्रसाद पोख्रेलले जानकारी दिनुभयाे।
परीक्षार्थीले अनिवार्य रूपमा विद्यालय पोशाकमा उपस्थित हुनुपर्नेछ भने खुला समूहका विद्यार्थीका लागि फोटोसहितको परिचयपत्र अनिवार्य गरिएको छ। परीक्षा अवधिभर मोबाइल फोन, स्मार्ट वाचलगायतका इलेक्ट्रोनिक उपकरण प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको पोख्रेलले बताउनुभयाे ।
प्रभावकारी अनुगमनका लागि सीसीटीभी जडान भएका विद्यालयलाई प्राथमिकतामा राखी परीक्षा केन्द्र निर्धारण गरिएको छ। साथै उत्तरपुस्तिकाको सुरक्षा र ढुवानीका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। यस वर्ष कोशी प्रदेशभर ३ सय ३२ परीक्षा केन्द्रमार्फत कुल ८० हजार ९ सय १० जना परीक्षार्थी सहभागी हुनेछन्।
परीक्षा सञ्चालनका लागि ३ सय ३२ केन्द्राध्यक्ष, ५ सय ४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८ सय १३ परीक्षक सहायक, १ हजार ६ सय १५ सहयोगी कर्मचारी तथा ४ हजार ९ सय ८० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ।