सुकुम्वासीको दीगो व्यवस्थापन गरेरै छाड्ने रास्वपा सभापति लामिछानेको प्रतिबद्धता

वैशाख २७, २०८३ |विकास आचार्य
सुकुम्वासीको दीगो व्यवस्थापन गरेरै छाड्ने रास्वपा सभापति लामिछानेको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन सुकुम्वासीको दीगो व्यवस्थापन गरेरै छाड्ने प्रतिवद्दता जनाउनुभएको छ ।

ललितपुरमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने क्रममा रास्वपा सभापति लामिछानेले वास्तविक सुकुम्वासीका पक्षमा अहिले पनि आफूले छाती थापेको दाबी गर्नुभयो ।

अर्को प्रसंगमा सभापति लामिछानेले न्यायालयको विषयलाई सडक बहसमा ल्याउन नहुने बताउँदै अहिले पनि आफ्नो गर्धन न्यायालयमै रहेको उल्लेख गर्नुभयो ।

उहाँले पार्टीका सांसदहरुलाई गुटवन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो । उहाँले भाइरलको दुनियाबाट बाहिर निस्केर नागरिकका मुद्दामा केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिनुभएको छ। दुई दिने प्रशिक्षणको समापनका अवसरमा सभापति लामिछानेले सामाजिक प्रतिष्ठालाई मानक बनाउनु गलत भएको टिप्पणी गर्नुभयो । उहाँले सांसदका रुपमा कानुन निर्माणका काम गर्न आग्रह गर्नुभयो ।

निर्वाचन क्षेत्रका लागि बजेट माग्ने प्रवृत्तितर्फ संकेत गर्दै सभापति लामिछानेले अब एउटा निर्वाचन क्षेत्रको मात्र नभई सबै नेपालको बजेट बन्न लागेको स्मरण गराउनुभयो ।

आफू जीवनी लेख्न नभई इतिहास लेख्न हिडेको पनि उहाँको भनाइ छ । सरकारले सोचविचार गरेर आफ्ना कदम चालिरहेको उल्लेख गर्दै उहाँले फास्ट ट्र्याकबाट कानुन बनाएर जनतालाई लाभ दिन खोजेको पनि स्पष्ट गर्नुभयो । देश र नागरिकलाई घाटा र अप्ठेरो हुने गरी कुनै निर्णय नगर्ने र गर्न नदिइने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।