दोलखा । दोलखाको तामाकोसी गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि विशेष लगानीसहित अभियान सुरू गरेको छ ।
एसईई नतिजा सुधारका लागि विद्यार्थीलाई विद्यालयमै होस्टलसहितको अतिरिक्त कक्षा सञ्चालन गरिएको हो । सामुदायिक विद्यालयको नतिजा सुधार गर्ने पालिकाको अभियान अभिभावक र शिक्षकको सहयोगले थप प्रभावकारी बनेको छ ।
दोलखाको तामाकोसी गाउँपालिका-७ कालिका माध्यमिक विद्यालयकी एसईई परीक्षार्थी सुस्मिता सुनुवार घर नगएको धेरै भैसकेको छ । चार महिनादेखि सुस्मिताको बसाइसहित खानपान पनि विद्यालयमै हुन्छ । बिहान ५ बजे उठ्ने । ६ बजे नास्ता गर्ने । त्यसपछि विद्यालयले सञ्चालन गरेको कक्षामा सहभागी हुने । यो क्रम राति १० बजेसम्म चल्छ ।
सुस्मिताजस्तै तामाकोसीका ८ विद्यालयबाट एसईईमा सहभागी हुने १ सय ८६ जना विद्यार्थीको झन्डै पाँच महिनादेखि विद्यालयमै वास छ । मुख्यगरी गणित, विज्ञान र अंग्रेजी विषयको कमजोरी सुधार र परीक्षामा आत्मविश्वासी बनाउन पालिकाले नै लगानी गरेर विद्यालयमै बास र गाँसको व्यवस्था गरेको छ । जस्का कारण विद्यार्थीले विषय अनुसारको कमजारी सुधार्ने मौका पाएका छन् ।
दिनमा तीनपटक पोषणयुक्त खाजा र बिहान बेलुकी खानासहित आवासका लागि प्रत्येक विद्यार्थी बराबर पालिकाले १३ हजार लगानी गरेको छ । यस्तै पालिकाको यो अभियानमा अभिभावले क्षमताअनुसार कतै चामल त कतै तरकारीलगायतमा सहयोग गरेका छन् ।
यस्तै कतिपय विद्यालयमा कक्षा ८ र ९ विद्यार्थीलाई पनि बिहान खाजा र खानासहित अतिरिक्त कक्षामा सहभागी गराइएको छ । सामुदायिक विद्यालय सुधार गर्ने पालिकाको अभियानमा अभिभावक र शिक्षकको सहयोगले थप प्रभावकारी देखिएको छ ।
विद्यार्थी र शिक्षकविच अन्तर संवाद बढाउन र विद्यार्थीको कमजोरी सुधार्न शिक्षक पनि राति १० बजेसम्म उनीहरूसँगै खानादेखि हेरचाहमा खटिन्छन् । जस्का कारण विद्यार्थीको आत्मवल बढेको छ भने सिकाइ उपलब्धी पनि देखिएको छ । विद्यालयसहित शिक्षण सुधारमा आउँदो वर्ष थप लगानी बढाउने र पालिकाका सामुदायिक विद्यालयको गुणस्तर उकास्न थप अभियान सञ्चालन गरिने भएको छ ।
विकास भनेकै पूर्वाधार हो र त्यसमा मात्र लगानी बढाउने जन परिपाटी विकास भएको छ । तर, तामाकोसीले भने शिक्षालाई पहिलो विकासको खुड्किलो बनाएर रणनितिक योजनासहित बाल कक्षादेखिनै विद्यालयसहित शैक्षिक सुधारमा लगानी गरेको छ । यस्ले स्थानीय तहले चाहे सामुदायिक विद्यालय अब्बल बनाउन सकिन्छ भनेर उदाहरण दिएको छ ।