
मोरङ । चिकित्सा शिक्षाको स्नातक तह सुरू गर्ने पूर्वाञ्चल विश्वविद्यालयको झन्डै दुई दशकदेखिको प्रयास अन्ततः सफल भएको छ ।
लामो समयको प्रतीक्षा र प्रक्रिया पूरा गर्दै विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्दै मंगलबारदेखि औपचारिकरूपमा एमबीबीएस कक्षा सञ्चालनमा ल्याएको हो । पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि २०६२ सालदेखि नै प्रक्रिया अगाडि बढाएको थियो ।
प्रारम्भिक चरणमै प्रवेश परीक्षा लिएर एमबीबीएस अध्ययनका लागि पाँच सय २० जना विद्यार्थी समेत छनोट गरिएको थियो । तर, त्यसबेला मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा तीन सय शैयाको आफ्नै शिक्षण अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था लागू भएपछि विश्वविद्यालयको योजना अघि बढ्न सकेको थिएन ।
त्यसपछि आवश्यक पूर्वाधार जुटाउने प्रयासका बिच विश्वविद्यालयले तीन वर्षअघि तीन सय ३० शैयाको कोशी अस्पतालसाग शिक्षण अस्पतालका रूपमा सहकार्य गर्ने सम्झौता गर्यो । साथै विश्वविद्यालयले एक सय शैयाको आफ्नै अस्पताल पनि सञ्चालनमा ल्याइसकेको छ ।
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक तयारीको निरीक्षण गरी त्यसको प्रतिवेदन दुई वर्षअघि नै शिक्षा मन्त्रालयमा बुझाएको थियो । तर, मेडिकल कलेज सञ्चालनको अन्तिम अनुमति दिन सरकारी प्रक्रियामा ढिलाइ हुँदा कक्षा सञ्चालन हुन सकेको थिएन ।
गत साउन दोस्रो साता आयोगको टोलीले अन्तिम अनुगमन गरेपछि भने सरकारले एमबीबीएस कार्यक्रममा ५० विद्यार्थी भर्ना गर्ने अनुमति दिएको हो । सरकारको उक्त निर्णयसँगै स्थापनाको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्सा शिक्षा औपचारिक रूपमा सुरू हुँदा विद्यार्थी उत्साहित छन् ।
लामो संघर्षपछि मेडिकल कलेज सञ्चालनमा आएसँगै पूर्वाञ्चल क्षेत्रमै गुणस्तरीय चिकित्सा शिक्षा विस्तार हुने, विद्यार्थीले तुलनात्मक रूपमा कम शूल्कमा अध्ययनको अवसर पाउने तथा स्वास्थ्य सेवाको पहुँचसमेत थप सुदृढ हुने अपेक्षा गरिएको छ ।