ध्वनि प्रदूषणको असर शिक्षामा : काठमाडौंका विद्यालयमा सिकाइ चुनौती गहिरिँदै

वैशाख ८, २०८३ |कृपाल गौतम
ध्वनि प्रदूषणको असर शिक्षामा : काठमाडौंका विद्यालयमा सिकाइ चुनौती गहिरिँदै

काठमाडौं । घनाबस्तीबीच पूर्वाधारविहीन विद्यालय, न खेल्ने मैदान, न बस्ने कक्षाकोठा । 

सामुदायिक विद्यालयका दुःख यतिमा मात्र सीमित छैनन् । राजधानीमा कतिपय यस्ता विद्यालय छन्, जहाँ सडकका हल्लाले न पढ्ने वातावरण छ, न पढाउने । 

विद्यालयका धेरै कक्षाहरू सडकतर्फ नै फर्किएका छन्। कार्यालय समयमा त कक्षा चलिरहेका बेला शान्त वातावरण कायम रहनै पाउँदैन । तर, के गर्नु बाध्यताकाबीच यसरी पढाउँदा पढाउँदै शिक्षकहरुलाई बानी परिसकेको छ । यस्तै काठमाडौंको मध्य बानेश्वरमा रहेको रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयको कक्षा कोठाबाट कस्तो आवाज आउँछ हाेला ? 

छेवैको सडकबाट आउने हल्लाले विद्यार्थीहरुले ध्यान् केन्द्रित गर्नै सक्दैनन् । विद्यार्थी मात्र नभएर शिक्षकहरूलाई समेत बाहिरको आवाजले पढाइरहेको बेला समस्या हुने गरेको छ । यस्तै रत्नराज्य माविका शिक्षक जसले यही विद्यालयबाट २०४९ सालमा एलएलसी पास गर्नु भएको थियो र अहिले यहीँ नै सहायक प्रधानाध्यापक हुनुहुन्छ, उहाँको अनुभव के छ त ?

काठमाडौंको व्यस्त क्षेत्रमा रानीपोखरी छेवैमा रहेको दरबार हाइस्कुल भूकम्पमा भत्किएर पुननिर्माण भएसँगै संरचनामा परिवर्तन गरिएको हो । अहिले साउन्ड प्रुफ झ्यालसहितका कोठाहरुका कारण सडकको आवाज निकै कम आउँछ ।

अब कुरा उठन सक्छ, विद्यालयको हल्लाले के फरक पार्छ ? पक्कै पनि विद्यार्थी र शिक्षकहरुले भनेजस्तै पठन पाठनमा त समस्या निम्त्याउँछ नै यसले विद्यार्थीको सिकाइ क्षमता नै पनि कमजाेर बनाउँछ । २०२५ मा भारतमा गरिएको एक अध्ययनमा उच्च ध्वनिले विद्यार्थीहरूको ध्यान केन्द्रित गर्ने क्षमता घटाउने र सिकाइ कमजोर हुने देखिएको थियो। तर, जब त्यहीँ विद्यार्थीहरुलाई शान्त वातावरण अध्ययन गराइयो, उनीहरुको क्षमतामा करिब १५ प्रतिशतसम्म सुधार देखिएको थियो ।

तपाईं हामी खासै ध्यान त दिँदैनौ, तर हल्ला र ध्वनी प्रदूषणले सिकाइमै असर पर्ने अध्ययनले पनि देखाइसकेको छ । सहरमा थुप्रै विद्यालय सडक छेवैमा देखिन्छन् । तर, सडकबाट आउने गाडी तथा मानिसका आवाजसहितका ध्वनी प्रदूषणले विद्यार्थीको पठनपाठनमा परिरहेको असरप्रति भने अहिलेसम्म कसैको ध्यान गएको देखिँदैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।