मनोहराको बस्ती स्थानान्तरणमा अवरोध, ४ प्रहरी घाइते

वैशाख १२, २०८३ |सुन्दर शिल्पकार
मनोहराको बस्ती स्थानान्तरणमा अवरोध, ४ प्रहरी घाइते

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित मनोहराको सुकुम्बासी बस्तीमा स्थानीयले अवरोध गरेका छन् । बस्तीका घरटहरा हटाउने क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि डोजर फर्किएको हो ।

भक्तपुर प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्काले भोलि बिहान पुन: बस्तीका संरचना हटाउन सुरु गरिने जानकारी दिनुभयो । केही पक्की घर टहराहरु डोजरले भत्काएपछि स्थानीयले अवरोध गरेको उहाँले बताउनुभयो । बस्ती खाली गराउन प्रहरीले माइकिङ गरेपछि स्थानीयले शुक्रबारदेखि नै सामान ओसार्न थालेका थिए । मनोहरामा ७ सय ७७ घरटहरामा १ हजार ६ सयभन्दा बढी मानिसको बसोबास थियो । जसमध्ये ५० भन्दा बढी दुई तले पक्की घर छन् ।

स्थानीयसँग झडप हुँदा थिमि प्रहरी वृत्त प्रमुख डीएसपी नवराज ढुंगानासहित ४ प्रहरी घाइते भएका छन् ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।