
काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गत युएई र ओमानसँगको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । टियू त्रिकेट रंगशालामा शनिबार नेपालले चिर प्रतिद्वन्द्वी यूएईलाई ३७ रनले पराजित गरेको हो ।
टस जितेर यूएईले पहिले फिल्डिङ गरेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ बलमा २ सय रन बनाएको थियो । २ सय एक रनको लक्ष्य पछ्याएको यूएई एक सय ६३ रनमा समेटिएपछि नेपाल विजयी भएको हो । खुजाइमा तनभीरले ओपनर आसिफ शेखलाई ७ रनमा बोल्ड गरे । १० रन बनाएका भीम सार्की पनि तनभीरकै बलमा खराब सट सेलेक्सनको सिकार बने । कुशल भुर्तेलले २४ रनको योगदान दिए पनि अजय कुमारको बलमा क्याच आउट हुन पुगे ।
डेब्युट्यान्ट खुजाइमा तनभीर र अजय कुमारले कसिलो बलिङ गरेपछि नेपालले पहिलो पावरप्लेमा ४८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । अजयले नै कप्तान रोहित पौडेललाई २ रनमा मैदान बाहिर पठाएपछि नेपालको इनिङ्स थप धराशायी बनेको थियो । बसिर अहमद २०, आरिफ शेख १५ रन र सोमपाल कामी १५ रनभन्दा अघि बढ्न सकेनन् । करण केसी २४ रनमा बाहिरिए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय योगदान दिए । ओडीआईमा दीपेन्द्रको यो छैटौँ अर्धशतक हो । यूएईका लागि जुनेद सिद्दकी र अजय कुमारले समान ३-३ विकेट लिए । तनभीरको नाममा २ विकेट रह्यो ।
जवाफमा नेपाली बलिङ युनिटले राम्रो सुरुआत गर्यो । करण केसीले लगातार दुई विकेट लिए । उदिब उसमानी एक रनमा आउट भए भने मुहम्मद साहदाद २ रनमा बाहिरिए । ओपनर आर्यन्स शर्माले १८ रन जोड्न सके । ललित राजवंशीबाट आउट हुनुअघि हरप्रित सिंहले ३९ रनको योगदान गरिसकेका थिए । सोमपाल कामीले ३० रन बनाएका अक्षदीप नाथको विकेट बसिर अहमदको हातमा थमाएका थिए । पाँच विकेट गुमाउँदा यूएईले एक सय २६ रन बनाएको थियो । यससँगै नेपाली बलरले बिस्तारै खेलमा दबाब बनाउँदै लगेका थिए । तर खेल नियन्त्रणमा लिनका लागि कप्तान मोहम्मद वासिमको विकेट लिनु अनिवार्य थियो ।
सोमपालले त्यो जिम्मेवारी पूरा गर्दै वासिमलाई ३४ रन बनाएको अवस्थामा क्याचआउट गराए । त्यसपछि सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिएर नेपाललाई जितसम्म पुर्याएका हुन् । नेपाली बलर हाबी हुँदा यूएईको पछिल्लो क्रम कोल्याप्स भएको थियो । समग्रमा करणले चार र सोमपालले २ विकेट आफ्नो नाममा गरे ।
यूएईलाई हराएसँगै लिग टूमा नेपाल समग्रमा २१ खेलमा ६ जितसहित १४ अंक बनाएर साथ सातौँ स्थानमा यथावत् छ । यूएई समान खेलमा १० अंकसहित आठौँ स्थानमा छ ।
दुवै टिमलाई अत्यावश्यक रहेको जितमा नेपालले राम्रो बलिङ कम्बिनेसनको मद्दतमा जित निकालेको कप्तान रोहित पौडेलले बताएका छन् ।