
काठमाडौँ । साढे ३ दशकयता बनेका सरकारले पटक पटक प्रयास गर्दा पनि नसकेको काठमाडौँका नदी किनाराका अनधिकृत बस्ती विनाअवरोध हटाइएका छन् । यससँगै राजधानीको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानउन्मुख भएको छ ।
आज थापाथली, गैरीगाउँ र शान्तिनगरको बस्ती खाली गराइएका हुन् । मनोहराको सुकुम्बासी बस्ती पनि खाली गर्न सुरु गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार तथा आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिनुभएको थियो । त्यसपछि बिहीबार काठमाडौं महानगर, काठमाडौं प्रशासन र सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरुबीच छलफल भएको थियो भने काठमाडौं प्रशासनले बिहीबार सूचना जारी गर्दै शुक्रबार साँझ ७ बजेसम्म बस्ती खाली गर्न समयसीमा तोकेको थियो ।
उक्त समयसीमा सकिएसँगै आज बिहान ६ बजेदेखि नै अनधिकृत घरटहरा भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रुपमा खाली गराउने प्रक्रिया अघि बढाइएको हो । थापाथलीको बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएका थिए । तर यसपटक विगतका भन्दा निकै फरक र शान्त देखिएको थियो । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका सुरक्षाकर्मीहरुले सुकुम्वासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरेका थिए । घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामान नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरेका दृश्य देखिएका थिए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार थापाथलीमा १ सय ४३ भन्दा बढी घर टहरा भत्काइएका हुन् ।
थापाथलीको बस्ती खाली गरिएपछि शान्तिनगर र गैरीगाउँको अतिक्रमित क्षेत्र खाली गराइएको हो । शान्तिनगरमा ४ सय ७६ र गैरीगाउँमा १ सय ६२ घरटहरा भत्काइएको प्राधिकरणले जनाएको छ । गैरीगाउँ तथा शान्तिनगर क्षेत्रमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । यहाँ पनि बस्ती हटाउने कार्य शान्तिपूर्ण सम्पन्न भएको छ ।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्ध चोक र वडा नम्बर ९ को मनोहरा टोलमा अनधिकृत वस्ती खाली गर्ने तयारी भएको प्रधानम्नत्रीको सचिवालयले जनाएको छ । गोठाटारमा ७७ र मनोहरा टोलमा १३ घरधुरी रहेका छन् । शान्तिनगर, गैरीगाउँ, थापाथली, गोठाटार र मनोहरा टोलमा गरी कुल ८ सय ७१ अनधिकृत घरधुरी रहेको उपत्यका विकास प्राधिकरणको तथ्यांक छ ।
यसअघि विभिन्न समयमा उपत्यकाका नदीकिनाराका रहँदै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउने प्रयास भए पनि सफल हुन सकेको थिएन । थापाथलीको बस्तीलाई २०६१, २०६५, २०७९ र २०८० सालमा हटाउने प्रयास भएको थियो । २०७९ मंसिरमा पनि प्रधानमन्त्री शाह काठमाडौं महानगर प्रमुख हुँदा बस्ती हटाउन गरिएको प्रयास असफल भएको थियो । हाल काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबिखोला, मनोहरा, बल्खु र गोदावरी खोला किनारामा करिब ६ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।