सुदूरपश्चिम विश्वविद्यालयमा ‘सम्पदा, नवप्रवर्द्धन र रूपान्तरण’ विषयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

फाल्गुन ४, २०८२ |हरिश्चन्द्र बाग
सुदूरपश्चिम विश्वविद्यालयमा ‘सम्पदा, नवप्रवर्द्धन र रूपान्तरण’ विषयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले ‘सम्पदा, नवप्रवर्द्धन र रूपान्तरण’ विषयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । 

फागुन ५ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयको सभाहलमा सुरू हुने उक्त सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनका संयोजक तथा विश्वविद्यालयका प्राडा किशनदत्त भट्टले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । 

उहाँकाअनुसार यसअघि सम्पन्न दुई अन्तर्राष्ट्रिय सम्मेलनको सफलतापछि तेस्रो संस्करण आयोजना गर्न लागिएको हो । सन् २०२२ र २०२५ मा सम्पन्न सम्मेलनपछिको निरन्तरताका रूपमा सन् २०२६ मा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । संयोजक भट्टले सम्मेलनले विश्वविद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

“यो सम्मेलन शैक्षिक अनुभव आदानप्रदानको महत्वपूर्ण थलो हो,” उहाँले भन्नुभयो, “अघिल्ला सम्मेलनबाट प्राप्त अनुभवलाई अझ व्यवस्थित गर्दै यसपटक थप प्रभावकारी बनाएका छौँ ।” सम्मेलनमा विश्वका २३ देशबाट प्राध्यापक, विज्ञ तथा अनुसन्धानकर्मीहरूले तयार पारेका कार्यपत्र प्रस्तुत गरिने छन् । 

करिब तीन सय अनुसन्धानपत्रमध्ये झन्डै दुई सयवटा दर्ता भई प्रस्तुतीकरणका लागि छनोट भएका छन् । कार्यक्रममा ८ मुख्य सत्र र २५ उपविषयमा केन्द्रित भई गहन छलफल गरिने जनाइएको छ । समाजशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, प्राकृतिक स्रोतसाधन, स्वास्थ्य, जनसंख्या, योजना, जलवायु परिवर्तन, व्यापार व्यवस्थापनलगायतका विविध क्षेत्रमा अनुसन्धानमूलक प्रस्तुतीकरण हुनेछ । 

इन्जिनियरिङ संकायका डीनसमेत रहनुभएका प्राडा भट्टले सम्मेलनमार्फत विश्वव्यापी प्राज्ञिक सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँकाअनुसार अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानले विश्वविद्यालय तथा सहभागीहरूलाई नयाँ दृष्टिकोण र सिकाइ प्रदान गर्नेछ ।

कार्यक्रमका सहसंयोजक प्राध्यापक मदनसिंह देउवाले सम्मेलनले विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने दिशामा टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले विश्वस्तरका विज्ञहरूको कार्यपत्र प्रस्तुतिले विद्यार्थी र प्राध्यापकहरूलाई नयाँ विषयमा अनुसन्धान गर्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । 

मानविकी तथा समाजशास्त्र संकायका उपप्राध्यापक डा. दीपकचन्द्र भट्टले अघिल्ला सम्मेलनबाट प्राप्त ज्ञान व्यवहारमा कार्यान्वयन भएको अनुभव साझा गर्दै यस सम्मेलनले थप व्यावहारिक उपलब्धी हासिल गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरको सहभागिताले विश्वविद्यालयलाई विश्व ज्ञान सञ्जालसँग थप सुदृढ रूपमा जोड्ने अवसर प्रदान गर्नेछ ।

बरिष्ठ लेखा अधिकृत अशोक भण्डारीका अनुसार नेपाल मटेरियल साइन्स सोसाइटी, विश्वविद्यालय अनुदान आयोग तथा अन्य सरकारी निकायको समन्वय र सहकार्यमा करिब ३० लाख रूपैयाँको बजेटमा तीनदिने सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालय प्रशासनले सम्मेलन उपलब्धीमूलक र दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।