काभ्रेका ९१ वटा विद्यालयको बेरुजु ५२ करोडभन्दा धेरै

माघ २९, २०८२ |पुजन धिताल
काभ्रेका ९१ वटा विद्यालयको बेरुजु ५२ करोडभन्दा धेरै

काभ्रे । काभ्रे जिल्लाका ९१ वटा विद्यालयको बेरुजु ५२ करोडभन्दा धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइले निर्माण थालेका विद्यालय भवन रकम अभावले अधुरै रहँदा करोडौं बेरुजु छाडेर जिल्लास्थित कार्यालय खारेज भइसकेको हो । 

बेरुजु फछ्र्यौटका लागि ताकेता भइरहे पनि विद्यालयहरूले यसलाई गम्भीरतापूर्वक लिएका थिएनन् । यसअघि कान्तिपुर टेलिभिजनले लगातार समाचार प्रसारण गरेसँगै शिक्षा समन्वय इकाइले बेरुजु फछ्र्यौट गर्न विद्यालय र स्थानीय तहलाई परिपत्र गर्दै वस्तुगत अवस्था संककल थालेको छ ।

जिल्ला शिक्षा समन्वय इकाई काभ्रेको तथ्यांकअनुसार जिल्लाका सरकारी विद्यालय २०६० साल पछिको बेरुजु ५२ करोडभन्दा धेरै छ । २०७२ सालको भूकम्पपछि २०७८ सालसम्म सरकारी विद्यालयको भौतिक निर्माणमा नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा ७ अर्ब ६६ करोडभन्दा बढी खर्च भएको तथ्यांकमा देखिन्छ । 

 जिल्ला शिक्षा समन्वय इकाइले विद्यालयको बेरुजुमध्ये सबैभन्दा धेरै सोही समयमा भएको जनाएको छ । कार्यालयका अनुसार निर्माणतर्फको बेरुजु ४८ करोड ७ लाख र अन्य बेरुजु ३ करोड १४ लाख ५१ करोड २५ लाखभन्दा बढी रहेको छ ।

जिल्लाका १३ स्थानीय तहमै बेरुजु रहेका विद्यालय छन् । अहिले दाखिला भएको ५ विद्यालयको बेरुजु विभिन्न भौतिक संरचना निर्माण र मर्मतसँग सम्बन्धित छ । महाभारत गाउँपालिका–१ मा रहेको गोकुले माविको भवन २०७८ सालमा सम्झौता भए पनि समयमै निर्माण सम्पन्न हुन सकेको छैन ।

यता वडा न ८ मा रहेको जनकल्याण मावि घर्तिछापमा प्रदेश सरकारको लागतमा निर्माण थालिएको विद्यालय भवन पनि सम्पन्न नहुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक हेम आले बताउनु हुन्छ ।

महाभारत गाउँपालिकाका १३ वटा विद्यालयको बेरुजु वि स २०६० पछिको ३ करोड ९८ लाख रहेको तथ्यांक छ । भूकम्पपछि निर्माण थालिएका तीन विद्यालय अलपत्र पर्दा बेरुजु देखिएको छ । समन्वय समितिको निरन्तरको ताकेताले यसअघि काम छाडेका केही निर्माण व्यवसायी पुनः काममा फर्किएका छन् ।

बेरुजु फछ्र्यौटमा स्थानीय सरकारले नै समन्वय गरेर विकास निर्माणका काममा ताकेता गर्न सके सरकारी र गैरसरकारी निकायको लगानीमा सञ्चालित आयोजना समयमै सम्पन्न भएर नागरिकले सहजै सेवा पाउनेतर्फ सबैको ध्यान जान जरुरी छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।