
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भारतसहित तेस्रो मुलुकका डेढ दर्जन विश्वविद्यालयबाट प्राप्त पाँच सयभन्दा बढीको शैक्षिक उपाधि शंकास्पद देखिएको भन्दै खारेज गर्ने निर्णय गरेको छ।
त्रिवि समकक्षता निर्धारण समितिले भारत तथा संयुक्त अरब इमिरेट्सका विभिन्न विश्वविद्यालयहरूबाट प्राप्त शैक्षिक उपाधि खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको हो । हाल विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा उच्च पदमा रहेकाहरूको समेत शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएको त्रिविले जनाएको छ, जसमा इन्जिनियरमात्रै १ सयभन्दा बढी छन् ।
सबैभन्दा बढी भारतीय विश्वविद्यालयका प्रमाणपत्र शंकास्पद देखिएका छन् । भारतको मणिपुरस्थित सांघाइ इन्टनेशनल युनिभर्सिटीबाट मात्रै १ सय २ जनाको शैक्षिक उपाधि शंकास्पद देखिएको छ । २०१५ मा स्थापित यो विश्वविद्यालयलाई भारतको विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षा र रोजगारीका लागि अवैध सूचीमा राखेको छ भने २०२४ मा आफ्नो सूचीबाट हटाइसकेको छ ।
त्यसैगरी भारतकै सीएमजी युनिभर्सिटी, टेक्नो ग्लोबल युनिभर्सिटी, प्रज्ञान इन्टनेशनल युनिभर्सिटी र जगदिशप्रसाद झाबडमल टिबडेवाल युनिभर्सिटी तथा युएइको ब्रिटिश इम्प्रेरियल युनिभर्सिटि कलेजबाट लिइएका विभिन्न तहका उपाधिको समकक्षता खारेजी प्रक्रियामा लगिएको छ । सम्बन्धित देशकै नियामक निकायले मान्यता नदिएका विश्वविद्यालयहरुबाट प्राप्त गरेका शैक्षिक प्रमाणपत्रको समकक्षता उपाधि खारेजीको निर्णय गरिएको समकक्षता निर्धारण समितिले जनाएको छ ।
खारेजीको प्रक्रिया सुरू गरिएकामा व्यवस्थापन, कानुन, इन्जिनियरिङ, विज्ञान, पत्रकारिता, राजनीतिक शास्त्र, समाजशास्त्र लगायत संकाय र विषयका छन् । त्रिवि समकक्षता निर्धारण समितिले २०७८ सालदेखि यी विश्वविद्यालयहरुबाट शैक्षिक उपाधिका लागि निवेदन दिएका र समकक्षता लिइसकेका व्यक्तिहरूको शंकास्पद प्रमाणपत्र खारेजीको प्रक्रिया अघि बढाएको हो ।