
काठमाडौँ । दुई पुस्तादेखि ओडारमा बाँचिरहेका धादिङ बेनिघाट रोराङका इस्तराम प्रजाको परिवारलाई घर निर्माण थालिएको छ । सोमबार कान्तिपुर टेलिभिजनमा २ पुस्तादेखि ओडारमा बाँचिरहेका इस्तरामको परिवारको समाचार प्रसारण भएको थियो ।
समाचार प्रसारण हुनुअघि नै त्यहाँ पुगेर इस्तरामका छोरा सुब्बा र बुहारी विष्णुमायाको नाममा २ रोपनी जग्गा खरिद गरी बेलाबेलामा खाद्यान्न सहयोग गर्दै आउनुभएका भएका काठमाडौँका तुलसी श्रेष्ठले यो परिवारको लागि घर पनि बनाइदिन लाग्नुभएको हो । समाचार संकलनका लागि कान्तिपुर संवाददाता पुगेको दिनदेखि त्यहीँ रहेका श्रेष्ठले इस्तरामको परिवारलाई ओडारबाट घरामा सारेर फर्कने इच्छा रहेको बताउनुभएको छ ।
इस्तराम प्रजाको ४ जनाको परिवार बेनीघाट रोराङ गाउँपालिका ९ मैवाङको ओडारमा बस्दै आएको छ । नागरिकता नभएकै कारण इस्तराम र उहाँकी श्रीमती सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुहुन्छ । यता जिल्ला प्रशासन कार्यालयले पनि वडा कार्यालयसँगको समन्वयमा इस्तराम दम्पतीलाई नागरिकता दिने प्रक्रिया अघि बढाएको छ ।