
काठमाडौं । यही चैत १९ देखि हुने माध्यमिक शिक्षा परीक्षा-एसईईका लागि विद्यार्थीहरु यतिखेर धमाधम तयारीमा व्यस्त छन् ।
परीक्षा नजिकिएसँगै विद्यार्थीहरुमा उत्कृष्ट नतिजाका लागि दबाब पनि बढ्दै गएको छ । खासगरी जीपीए ४ वा माथिल्लो श्रेणीको नतिजा ल्याउन विद्यालय र अभिभावकहरुबाटै दबाब दिने गरिएको छ । तर यसरी मनोवैज्ञानिक रुपमा दबाब दिइनु गलत रहेको सरकारी अधिकारीहरुकै भनाइ छ । मध्यम खालको नतिजा ल्याए पनि माथिल्लो कक्षामा जान पाइने हुनाले विद्यार्थीलाई दबाबभन्दा पनि राम्रो हेरचाहसँगै प्रोत्साहन आवश्यक उनीहरुको भनाइ छ ।
माध्यमिक शिक्षा परीक्षा-एसईई नजिकिएसँगै विद्यार्थीहरु तयारीमा व्यस्त छन् । तर उनीहरुमा उत्कृष्ट नतिजाका लागि दबाब बढ्दै गएको छ । निजी विद्यालयहरुले विद्यार्थीलाइ राम्रो नतिजा ल्याउनका लागि अतिरिक्त कक्षाका साथै पढाइसँगै र अभ्यासमूलक परीक्षा गरेर कडा मिहिनेत गराइरहेका छन् । मिहिनेतविना जीपीए ४ जस्तो सर्वोत्कृष्ट नतिजा ल्याउन नसकिने हुनाले अभिभावक र शिक्षकको अपेक्षा हुनु स्वभाविक रहेको विद्यार्थीहरुको बुझाइ छ ।
त्यसो त १० वर्षसम्म गरेको मिहिनेतको फल राम्रो होस् भन्ने चाहना सबैको हुन्छ । यहाँ ल्याउने नतिजाले माथिल्लो कक्षामा कस्तो विषय पढ्ने भन्ने कुरा निर्भर हुन्छ । त्यसका लागि विद्यार्थीहरुले अंग्रेजी, गणित, विज्ञानजस्ता विषयलाई प्राथमिकता दिएर मिहिनेत गरिरहेका छन् । विद्यार्थीले जीपीए ४ वा माथिल्लो उत्कृष्ट श्रेणीमा नतिजा ल्याउन सके राम्रा शैक्षिक संस्था छनोट गर्न पाउनेमात्र होइन छात्रवृत्ति र राम्रा अवसर पाउने भएकाले पनि अभिभावकले कडा मिहिनेतका लागि प्रोत्साहन गरिरहेका हुन्छन् ।
चैत १९ देखि हुने एसईईमा देशभरका ११ हजार ३ सय ७९ विद्यालयका ५ लाख ९ हजार ९ सय ६१ परीक्षार्थी सहभागी हुँदैछन् । ४ जीपीए ल्याउँदैमा सबथोक हासिल हुन्छ भन्नेचाहि होइन । त्यसपछिको मिहिनेत झन् महत्वपूर्ण हो । त्यसैले तनाव भन्दा सहज ढंगले पढ्ने वातावरण, खानपान, जीवनशैलीमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।
तीन घन्टाको मूल्यांकनबाट प्राप्त नतिजा त छँदैछ, विद्यार्थीहरुले कति ज्ञान र सीप हासिल गर्न सके भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो । त्यसैले विद्यार्थीलाई मानसिक दबाब होइन, ज्ञान र नयाँ भविष्यका लागि प्रेरित गर्नु आवश्यक छ ।
कान्तिपुर समाचारका लागि क्यामेरामा पशुपति बुढाथोकीका साथ नारायण किलम्बू काठमाडौ