
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको दुर्गमबस्ती तेम्बाथानमा छात्रावास सञ्चालनमा आएपछि चौँरी र भेडापालन गर्दै ठाउँ सरिरहनुपर्ने बाध्यतामा रहेका परिवारका बालबालिका फेरि विद्यालय फर्किन थालेका छन् ।
बाआमासँगै खर्क हुल्न बाध्य बालबालिकाले अब नियमितरूपमा विद्यालय जाने अवसर पाएका हुन् । तेम्बाथानमा खुलेको छात्रावासले गोठालो जीवनमा अल्झिएका बालबालिकालाई फेरि शिक्षाको मूलधारमा जोडेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका -३ स्थित तेम्बाथान, जुगल हिमालको फेदीमा अवस्थित दुर्गम गाउँ हो । यो गाउँको जीवनशैली परम्परागत पशुपालन संस्कृतिसँग गाँसिएको छ । अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत चौँरी र भेडापालन हो । सिजनअनुसार अभिभावकहरू चौरी र भेडासहित दुई हजारदेखि चार हजार पाँच सय मिटर उचाइसम्म गोठ सार्दै जान्छन् ।
घरमा साना बालबालिकालाई एक्लै छाड्न नसकिने भएकाले उनीहरूलाई साथमै गोठ लैजानु बाध्यता थियो । यसै कारण यहाँका बालबालिकाको पढाइ हरेक वर्ष कम्तीमा तीन महिना अवरुद्ध हुन्थ्यो ।
तर यो दुर्गम बस्तीमा रहेको आधारभूत विद्यालयमा छात्रावासको व्यवस्था भएपछि पढाइबाट वञ्चित हुँदै आएका बालबालिकाले नियमितरूपमा विद्यालय जान थालेका छन् ।
छात्राबासको व्यवस्थाले पशुपालन र बालबालिकाको शिक्षा दुवै अघि बढाउन सकिएको भन्दै अभिभावकहरू निकै खुशी छन् । अहिले अभिभावक ढुक्क भएर गोठ जान्छन् र उनीहरूका छोराछोरी सुरक्षितरूपमा पढिरहेका छन् ।
विद्यालयले छात्रावासमार्फत खाना, बसोबास र शिक्षाको समुचित व्यवस्था गरेपछि अभिभावकहरूले बालबालिकालाई गोठमा लैजान छाडेका हुन् ।
चौँरीपालक परिवारलाई लक्षितगरि जुुगल गाँउपालिकाले वार्षिक पाँच लाख रुपैयाँ अनुदान छुट्याएर छात्रावास सञ्चालनमा ल्याएको हो । यो योजनाले शिक्षा र जीविकोपार्जनबीचको दूरी घटाएको छ । हाल विद्यालयको कुल भर्ना संख्या ९२ जना हो भने छात्रावासमार्फत २७ जना बालबालिका नियमितरूपमा कक्षामा सहभागी भइरहेका छन् ।
तेम्बाथान जिल्लाकै दुर्गममध्येको गाउँ हो, जहाँ अझैसम्म सहज सडक पुगेको छैन । हिमाली भेगको कठोर भूगोल र कठिन जीवनशैलीबीच शिक्षामा पहुँच पु¥याउनु चुनौतीपूर्ण काम हो । तर तेम्बाथानको यो पहलले दुर्गम बस्तीका बालबालिकाको सपनालाई उडान दिइरहेको छ । जुगल हिमालको फेदीमा अब केवल चौँरीको घाँटीको घण्टीमात्रै होइन, कक्षाकोठामा विद्यार्थीको आवाज पनि गुञ्जिन थालेको छ।