सहमति कार्यान्वयनको माग गर्दै कमला नगरपालिकाका शिक्षकहरू पुनः आन्दोलित

फाल्गुन २७, २०८२ |अनिल मिश्र
सहमति कार्यान्वयनको माग गर्दै कमला नगरपालिकाका शिक्षकहरू पुनः आन्दोलित

धनुषा । जनप्रतिनिधिहरूले विगतमा गरेको सहमति कार्यान्वयनको माग गर्दै धनुषाको कमला नगरपालिकाका शिक्षकहरू पुनः आन्दोलित भएका छन् ।

गत पुस अन्तिम साता दुवै पक्षबीच भएको सम्झौताअनुसारको विगत ८ महिनाको तलबभत्ता एकमुष्ट दिनुपर्ने र नियमित तलब उपलब्ध गराउनु पर्ने मागसहित शिक्षकहरू पठनपाठन बन्द गरी पुनः आन्दोलित भएका हुन् । 

मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २२ किलोमिटर पूर्वमा अवस्थित कमला नगरपालिकाको पाँचवटा मावि, दुईवटा निमावि र दशवटा प्राविका शिक्षकहरू आन्दोलित भएपछि सात हजार बालबालिकाले पढ्न पाएका छैनन्। केही शिक्षक नगरपालिकामा धर्नामा छन् भने केही विद्यालय खोले पनि कक्षा सञ्चालन भने नगरेको जनहीत माध्यमिक विद्यालय माचि झिटकैयाका प्रधानाध्यापक जगन्नाथ यादवले जानकारी दिनुभयो । 

माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने भन्दै १ सय ४९ जना शिक्षकहरू गत पुस १ गतेदेखि २२ गतेसम्म विद्यालय बन्द गरी हड्तालमा उत्रेका थिए । जनप्रतिनिधिहरू बीचको असमझदारीका कारण असार १० गतेभित्र गरिसक्नुपर्ने नगर सभा अहिलेसम्म बोलाउन नसकेपछि शिक्षक मात्र होइन स्वास्थ्य, कृषि, वडा सचिव लगायतका कर्मचारीहरूले पनि दशैं, तिहार र छठ जस्तो महत्त्वपूर्ण चाडपर्व बितिसक्दा पनि तलब भत्ता पाएका छैनन् । 

जनप्रतिनिधिहरूको लापरबाहीले चालू आर्थिक वर्षको बजेट आउन नसकेका कारण विकास निर्माणको काम त ठप्प छ नै कमला नगरपालिकाका ९ हजार ५ सयभन्दा बढी व्यक्तिले विगत आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता समेत पाएका छैनन ।

कमला कछेरका तात्कालीन हरिने, लक्कड, सिंग्याही मडान, दुबरकोट, माची झिटकैयालगायत ६ वटा गाविसहरू मिलेर बनेको कमला नगरपालिकाको ९ वटा वडामा ४२ हजारभन्दा बढी मानिसको बसोबास छ । गत वर्ष भदौमा ५७ करोडभन्दा बढीको बजेट ल्याएको नगरपालिकाले चालू आर्थिक वर्षको आठ महिना बित्न लागे पनि नगर परिषद्समेत बोलाउन नसकेपछि नगरपालिकाको काम अस्तव्यस्त बनेको छ । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।