जुम्ला । जुम्ला बहुमुखी क्याम्पसले स्थापनाको झन्डै ५२ वर्षपछि संकाय थप्न पहल सुरू गरेको छ ।
व्यवस्थापन र शिक्षा संकायमा मात्र पढाइरहेको जुम्ला क्याम्पसले चलनचल्तीका विषयहरू थप्न थालेको हो । यसले महंगो खर्च तिरेर जिल्ला बाहिर अध्ययन गर्नुपर्ने बाध्यता हट्ने छ । जुम्ला बहुमुखी क्याम्पसले कानुन, व्यवस्थापन र मानविकी तथा सामाजिक संकाय थप्न पहल थालेको हो ।
क्याम्पसले संकाय थप्ने पहल सुरु गरेपछि विद्यार्थीहरूमा अहिले चलनचल्तीमा रहेका विषय पढ्न पाउने आशा जागेको छ । कर्णालीमा कानुन विषय अध्यापन अभावलाई पूरा गर्न, व्यवस्थापनलाई प्रविधिसाग जोड्न, पर्यटन क्षेत्र दक्ष जनशक्ति उत्पादन गर्न, सूचना संकलन, सम्पादन र प्रस्तुतीकरण सीप प्रदान गर्न, समाज सेवा र समुदाय विकासमा दक्ष जनशक्ति उत्पादन गर्न र मानिसको व्यवहार र मानसिक स्वास्थ्य बुझ्ने क्षमताको विकास गर्न संकाय थप्न लागिएको हो ।
नयाँ संकाय थप्न तत्काल ९४ लाख पचास हजार रुपैयाँ लागत अनुमान गरिएको छ । कर्णाली क्षेत्रको श्रमबजारको मागअनुसार रोजगारमुखी र व्यवहारिक शैक्षिक कार्यक्रमहरूको विस्तार गर्न, स्थानीयस्तरमै गुणस्तरीय, पहुाचयोग्य र समावेशी उच्च शिक्षा सुनिश्चित गर्न, उच्च शिक्षाको लागि विद्यार्थी पलायन न्यूनीकरण गर्दै स्थानीय मानवस्रोतको विकास र उपयोग गर्न जुम्ला क्याम्पसले थालेको संकाय थपको प्रस्तावलाई जुम्लाका सरोकारवालाले प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता गरेका छन् ।
शिक्षक कर्मचारी गरेर ३६ जना कार्यरत रहेको जुम्ला क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन संकायमा ९०५ जना विद्यार्थी अध्ययनरत छन् । जुम्ला क्याम्पस २०३० सालमा प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रम तालिम केन्द्रको रूपमा स्थापित भएको थियो । २०४५ सालमा शिक्षा क्याम्पसमा परिणत भयो ।
२०४८ सालमा व्यवस्थापन संकायको पठनपाठन सुरु गरेर बहुमुखी बनेको यो क्याम्पसले २०५७ सालमा बीएड, २०६० सालमा बीबीए पढाउन थाल्यो । कर्णालीको शैक्षिक जनशक्ति उत्पादनमा ठूलो योगदान दिएको जुम्ला क्याम्पसलाई अझ सबल बनाउन जरुरी भएको सरोकारवाला बताउँछन् ।
संकाय गप गर्नेबारेमा क्याम्पसले स्थानीय सरकार र सरोकारवालासँग छलफल गरी त्रिभुवन विश्व विद्यालयसाग सम्बन्धन प्रक्रिया अघि बढाइरहेको छ । आवश्यक भौतिक पूर्वाधार व्यवस्थापन, दक्ष प्रध्यापक र कर्मचारीको छनाेट सुरु भइसकेको छ । विद्यार्थी भर्ना तथा प्रचार गर्दै चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने कार्यन्वयन योजना जुम्ला बहुमुखी क्याम्पसले बनाएको छ ।