काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनितिकरण निर्मूल पार्नुपर्ने बताउनु भयो । त्यसको लागि सुरूवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । त्यसको लागि कानून संशोधन गर्नुपर्ने उहाँले बताउनु भयो । तर हाल कानून संसोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उहाँको भनाइ छ । यद्यपि विश्वविद्यालय सुधारको लागि केही मस्यौदाहरू तयार गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले विश्वविद्यालयले परीक्षाफल समयमा नलिकाल्ने गुनासो आएकोले समयमा नै परिक्षाफल निकाल्न निर्देशनन दिएको पनि जानकारी दिनुभयो । समयमा नै परिक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उहाँको भनाइ छ ।
मन्त्रालयले विद्यालयका शिक्षकहरूले तलबभत्ता नपाएको विषयमा छानबिन गर्ने, विद्यालयका प्राध्यानाध्यापक छान्ने प्रक्रिया, पाठ्यक्रम परिमार्जन लगायतका काम अगाडी बढाएको पनि उहाँले जानकारी दिनुभयो ।