जनकपुरधाम । मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरू गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताउनुभयो ।
उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ र आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।
कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताउनुभयो । एक जना छोरीको बिमा गर्दा रू ३७ हजार ४५७ प्रिमियम तिर्नुपर्छ ।-रासस