जेन-जी आन्दोलनका कारण ठप्प शैक्षिक संस्था आजदेखि सञ्चालनमा

भाद्र २९, २०८२ |अञ्जना लामिछाने
जेन-जी आन्दोलनका कारण ठप्प शैक्षिक संस्था आजदेखि सञ्चालनमा

काठमाडौं । जेन-जी आन्दोलनका कारण एक सातादेखि बन्द भएका अधिकांश शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले विद्यालय खोल्न निर्देशन दिएपछि सरकारी तथा नीजी विद्यालय खुलेका हुन् । गत सोमबारदेखि भएको जेन-जीको आन्दोलनका क्रममा केही शैक्षिक संस्थामा समेत आगजनी तथा तोडफोड भएको थियो । 

त्यसपछि विद्यालयहरू बन्द भएका थिए भने पठनपाठन समेत प्रभावित भएको थियो । आइतबार पहिलो दिन विद्यालय खोलेर सरसफाइ गरिएको छ। भोलि अर्थात् साेमबारदेखि विद्यालयमा उपस्थित हुन विद्यार्थीलाई भनिएको छ ।

नीजी विद्यालयहरू पनि आइतबारदेखि खुलेका छन् । आइतबार शिक्षकहरू उपस्थित भएर भौतिकरूपमै पढाउन सकिने निष्कर्ष निकाल्दै साेमबारदेखि नै विद्यार्थीलाई बोलाएका छन् । 

कतिपय विद्यालयले भने सुरक्षालाई ध्यानमा राख्दै आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजान आग्रह गरेका छन् । त्यसैगरी निजी विद्यालयहरूले बालबालिकाको मनोबल बलियो बनाउन मनोपरामर्श कक्षा सञ्चालनको तयारी गरेका छन् ।

यता जेन-जी आन्दोलनका क्रममा तोडफोड र आजगनीबाट क्षतिग्रस्त विद्यालयले भने भर्चुअलरूपमा पढाउने बताएका छन् । काठमाडौंमा उपत्यकाभित्र मात्रै ६ वटा विद्यालयमा तोडफोड र आगजनी भएको छ ।

यसैबीच प्याब्सन काठमाडौँले भदौ २८ गतेदेखि तोकिएको परीक्षा असोज २ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । निजी विद्यालयका सञ्चालकहरूका संस्था प्याब्सन, हिसान, एनप्याब्सन केन्द्रीय समिति र विभिन्न जिल्लाबाट विज्ञप्ति जारी गरेर आजदेखि नै अनुकूलताका आधारमा विद्यालय खोल्न अपिल गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयले भने प्रशासन सञ्चालन गरे पनि पठनपाठन कात्तिक ११ गतेदेखि मात्र सुरू गर्ने भएको छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।