
काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वका विश्वविद्यालयहरूको वरीयतामा सुधारका साथै वरीयतामा स्तरोन्नति भएको छ ।
विश्वका २२ हजार भन्दाबढी विश्वविद्यालयमा गरिएको अनुसन्धात्मक प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय यसवर्ष १५ सय १ भन्दामाथिको वरीयता समूहमा पर्न सफल भएको छ । यसैगरी युएस न्युज डट कमको रिपोर्टमा त्रिवि ९ सय १९ औं स्थानमा पर्न सफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर मानविकी, व्यवस्थापन, शिक्षा इन्जिनियरिङ कानुन र चिकित्सा शास्त्रलगायत ११ वटा विषयमा गरेको अनुसन्धात्मक प्रतिवेदन अनुसार शुन्य दशमलव ५ प्रतिशतको स्कोरले वरीयतामा स्तरोन्नति भएको उपकुलपति प्राध्यापक दिपक अर्यालले जानकारी दिनुभयो ।
त्रिवि विश्वका शीर्ष ७ दशमलव ८ प्रतिशत विश्वविद्यालयहरूमा पर्न सफल भएको छ जुन गत वर्ष ८ दशमलव ३ मा परेको थियो । उपकुलपति अर्यालले पाँच लाख विद्यार्थी अध्ययनरत विश्वविद्यालयको थप सुधारका लागि कार्य प्रारम्भ भइसकेको र सरकारले पनि अनुसन्धानदेखि उच्च शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो।
चिकित्सा शास्त्र विषयमा त्रिवि ६ सय १ औं र इन्जिनियरिङमा १ हजार वरपर, शिक्षाशास्त्र ८ सय १ औं, व्यवस्थापन १ हजार १ औं स्थापनामा पर्न सफल भएको त्रिविको दाबी छ । तर मानवीकी, कम्युटर विज्ञान, कानून विषयमा कमजोर हुँदा कुनै अंक प्राप्त गर्न सकेन ।
विश्वविद्यालयमा हुने बन्द हड्ताल, आन्दोलन र अनुसन्धानमुलक कार्यमा कमिलगायतले पनि विश्ववरियतामा प्रभाव परिरहेको विश्वविद्यालयले जनाएको छ ।