
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले विद्यालय शिक्षा ऐन जारी नहुँदा निजी विद्यालयहरूको अस्तित्व र दिगोपनमा असर पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस्तो ध्यानाकर्षण गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव रामहरि सिलवालले नेपालमा गुणस्तरीय शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा राज्यको आर्थिक भार कम गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको दाबी गर्नुभयो ।
उहाँले निजी विद्यालयहरूले देशभित्र मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको पनि बताउनु भयो । यद्यपि विद्यमान ऐनहरूले निजी क्षेत्रलाई निरूत्साहित गर्ने, लगानी असुरक्षित बनाउने र शैक्षिक वातावरण अस्थिर बनाउने खालको रहेको पनि उहाँले बताउनु भयो ।
उहाँले उच्च शिक्षामा देखिएको राजनीतिक अस्थिरता, बारम्बारको नीति परिवर्तन, शैक्षिक क्यालेन्डर अव्यवस्थित हुनु, पाठ्यक्रममा समयानुकूल सुधार नहुनु तथा उद्योग-शिक्षा समन्वय कमजोर हुनुजस्ता समस्याले विद्यार्थी विदेश पलायन बढेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।
उहाँले जेन-जी आन्दोलनको क्रममा विद्यालयहरूमा तोडफोड, आगजनी र आक्रमणका घटनाले शिक्षा क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै भविष्यमा यस्ता गतिविधि हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा स्थायित्व, लगानीमैत्री वातावरण तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने नीति अवलम्बन गर्न सरकारसँग माग राख्नुभयो ।