सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ उपकुलपतिको रुपमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई पाएको छ ।
पटकपटकको आन्दोलनले अस्तव्यस्त बनेको प्रतिष्ठानको नवनियुक्त उपकुलपति श्रेष्ठले गत शुक्रबार कार्यभार सम्हालिसक्नुभएको छ । प्रतिष्ठान बाहिरबाट नेतृत्वमा आएका पदाधिकारीले दीर्घकालीन प्रभाव पार्ने कामभन्दा तात्कालीक फाइदाका लागि मात्र काम गर्ने गरेको आरोप लागिरहँदा प्रतिष्ठानभित्रैबाट नियुक्त भएका श्रेष्ठका चुनौती भने कम छैनन् ।
उपकुलपति, रजिस्ट्रार, अस्पताल निर्देशकलगायतका पदाधिकारी बाहिरबाट नियुक्त हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विकास र शैक्षिक उन्नयनमा असर गर्ने भन्दै प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र स्थानीय लामो समयदेखि आन्दोलित थिए ।
उनीहरू सबैको एउटै माग थियो, बीपी प्रतिष्ठानभित्रैबाट पदाधिकारी नियुक्ति हुनुपर्ने । तर यो माग यसअघि पूरा हुन सकेको थिएन । गत मंगलबार भने उपकुलपति नियुक्त गर्दा सरकारले प्रतिष्ठानमै कार्यरत प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठलाई नियुक्त गर्यो ।
विभिन्न व्यक्तिलाई पछि पार्दै उपकुलपतिमा नियुक्त हुनुभएका श्रेष्ठसामु चुनौतीका चाङ छन् । ती चुनौती पार लगाउँदै प्रतिष्ठानको खस्किएको शाखलाई फर्काउने अवसर उहाँलाई छ ।
प्रा.डा.श्रेष्ठ प्रतिष्ठानका हाडजोर्नी रोग विशेषज्ञ हुनुहन्छ । विगतमा उहाँले प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी पनि पूरा गरिसक्नुभएको छ । धरानमा लामो समयदेखि स्थानीयलाई नै उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग हुँदै आएको थियो ।
उपकुलपति हुने दौड सुरू भएपछि प्रतिष्ठान भित्रैबाट पनि श्रेष्ठलाई नियुक्त दिलाउन लबिङसमेत भइरहेको थियो । आफू प्रतिष्ठान भित्रकै भएका कारण अरूलाई जस्तो प्रतिष्ठान बुझ्न समय खर्चिनु नपर्ने भएकाले काममा केही सहजता आउने उहाँको दाबी छ ।
उपकुलपतिमा श्रेष्ठको नियुक्तिले प्रतिष्ठानमा पनि क्षमतावान् प्राध्यापक छन् भन्ने कुराको पुष्टि गरे पनि अस्तव्यस्त प्रतिष्ठानलाई पहिलेकै लयमा फर्काएर भित्रबाटै नियुक्त पदाधिकारीले राम्रो काम गर्छन् भनेर देखाउनुपर्ने चुनौती उहाँमाथि छ ।
प्रतिष्ठानलाई उत्कृष्ट उपचार सेवा, शैक्षिक उन्नयन र विकासमा लैजान उपकुलपति श्रेष्ठबाट कसरी काम हुन्छ भन्नेमा सबैको चासो छ ।