काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीअन्तर्गतको नर्सिङ लाइसेन्स परीक्षामा २० प्रतिशत पनि विद्यार्थी उत्तीर्ण नभएपछि नर्सिङ शिक्षाको गुणस्तरमा प्रश्न उठेको छ ।
नेपाल नर्सिङ परिषद्ले हालै लिएको प्रमाणपत्र तहको नर्सिङ लाइसेन्स परीक्षामा १९ दशमलव ४३ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । ८१ प्रतिशत विद्यार्थी फेल भएपछि नर्सिङ शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
सीटीईभिटीअन्तर्गत नर्सिङतर्फ प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा झन्डै ८१ प्रतिशत विद्यार्थी फेल भएपछि गुणस्तरमा प्रश्न उठेको हो । नेपाल नर्सिङ परिषद्ले लिएको परीक्षामा ९ सय २६ जना सहभागी भएकोमा १ सय ७७ जना मात्र पास भएका छन् । बाँकी ७ सय ३४ जना फेल भए ।
परिषद्ले लिएको बीएस्सी नर्सिङमा भने ६२ प्रतिशत पास भएका छन् । यसले प्रमाणपत्र तहको नर्सिङ शिक्षाको गुणस्तर खस्किएको देखाएको छ । अहिले पनि धेरै जसो क्याम्पसमा पूर्वाधार, दक्ष जनशक्तिको अभावदेखि व्यवहारिक शिक्षामा कमजोरी रहेको परिषद्को बुझाई छ ।
सीटीइभिटीले पनि विद्यार्थीको सैद्धान्तिकसँगै व्यवहारिक परीक्षा लिनुपर्ने र कलेज सञ्चालकले गुणस्तर सुधार गर्नुपर्ने अवस्था देखिएको स्वीकारेको छ । नर्सिङ क्याम्पस सञ्चालकहरूले कमी कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।
सीटीइभिटीअन्तर्गतका ६३ वटा शिक्षण संस्थामा नर्सिङका बर्सेनि २५ सय जनशक्ति उत्पादन हुन्छ । नर्सिङ काउन्सिलका अनुसार ८६ हजारले प्रमाणपत्र नर्सिङको लाइसेन्स लिइसकेका छन् । ५० हजार ७ सय जनशक्ति विदेशिएको छ ।
सबैभन्दा धेरै अमेरिकामा २८ हजार ६ सय र अस्ट्रेलियामा १२ हजार ७ सय गएका छन् । तर लाइसेन्स परीक्षामै धेरै विद्यार्थी फेल भएपछि नर्सिङ शिक्षाको गुणस्तरमाथि प्रश्न मात्र उठ्दैन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नकारात्मक सन्देश जाने विज्ञको बुझाइ छ ।
जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ शिक्षाको गुणस्तर सुधारमा सरकारले खासै चासो दिएको छैन । शिक्षाको गुणस्तर सुधार भए मात्र दक्ष जनशक्ति उत्पादन गर्न सम्भव छ ।