काठमाडौं । पछिल्लो समय भिजिट भिसाका नाममा जसरी मानव तस्करी बढेको छ । शैक्षिक भिसासमेत मानव बेचबिखन तथा ओसारपसार र तस्करीको अर्को रूप बन्न थालेको छ।
गन्तव्य मुलुकका शैक्षिक संस्थाले भर्ना गरेका कागजातलाई मुख्य आधार मानेर भिसा दिइने हुँदा मानव तस्करी गर्नेहरूले शैक्षिक भिसाको सहारा लिने गरेका छन् । त्यसमाथि शैक्षिक भिसा लिएर विदेशिएकाहरू अध्ययनभन्दा पनि काम र श्रमतिर जोडिँदा गन्तव्य मुलुकले समेत प्रश्न उठाउन थालेका छन् ।
उच्च सरकारी अधिकारीहरूको संलग्नतामा भिजिट भिसाका नाममा मानव तस्करी भएको आशंकामा अख्तियार दुरूपयोगलगायतका निकायले अनुसन्धान जारी राखेका छन् ।
यही बेला शैक्षिक भिसाका नाममा पनि मानव बेचबिखन तथा ओसारपसार र तस्करीमा अनुसन्धान सुरू भएको छ । गन्तव्य मुलुकका शैक्षिक संस्थाले भर्ना गरेका कागजातलाई मुख्य आधार मानेर भिसा सजिलै पाइने भएपछि शैक्षिक भिसामार्फत् मानव ओसारपसार हुने गरेको हो ।
पछिल्लो पटक विद्यार्थी भिसामा गएका विद्यार्थीहरूले रोजगारीमा जोड दिने गरेको गुनासो आएपछि सरकारले अध्ययन अनुमति दिन नै रोक लगायो । शैक्षिक भिसाका नाममा मानव ओसारपसार बढेको अध्ययनका लागि चाहिने अनुमतिपत्र-एनओसीमा भइरहेको लेनदेनले पनि पुष्टि गर्छ ।
आवश्यक कागजात नै नपुर्याएका विद्यार्थीहरुबाट समेत घुस लिएर एनओसी जारीगर्ने गरेको आशंकामा शिक्षा मन्त्रालयले छानबिन समिति बनाएर अध्ययन थालेको छ । शैक्षिक भिषामा मानव ओसारपसार हुने गरेको अर्को शंकास्पद प्रमाण हो बिना दर्ता सञ्चालित हजारौ शैक्षिक परामर्श संस्था अर्थात कन्सल्टेन्सी ।
देशभर हजारौंको संख्यामा शैक्षिक परामर्श संस्थाहरू बिना दर्ता गैरकानुनी रूपमा सञ्चालित छन् । यस्ता संस्थाहरूले प्रलोभन देखाएर विद्यार्थीलाई पठाउँदा विदेशमा ठगिने क्रम बढेको छ ।
अझ कतिपय विद्यार्थी त विदेशमै कालोसूचीमा परेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा समेत जाने गरेको शिक्षा मन्त्रालय नै बताउँछ । यसले पनि के देखाउँछ भने विद्यार्थी बनेर पढ्न जाने भन्दा पनि जस्तोसुकै विश्वविद्यालयको भएपनि शैक्षिक भिसा लगाएर विदेशमा श्रम गर्न खोज्ने प्रवृत्ति बढेको छ ।
शिक्षा मन्त्रालयका अनुसार उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू १ सय १६ वटा देशका २ हजार शैक्षिक संस्थाहरूमा जाने गरेका छन् जसका लागि बर्सेनि १ लाख १० हजारले एनओसी लिने गरेका छन् । शैक्षिक परामर्श व्यवसायीहरू भने शैक्षिक भिसामा विद्यार्थी पठाइएको विषयलाई मानव ओसारपसारसँग जोड्न नहुने बताउँछन् ।
दर्ता गरेर कानुन बमोजिम परामर्श सेवा दिइरहेकाहरूले शैक्षिक भिसामा हुने बदमासीलाई मानव ओसारपसारमा जोड्न नहुने भन्नु ठीकै हो । तर के उहाँहरू बिना दर्ता चलेका तथा ठगी धन्दा गरिरहेकाहरूको पनि जिम्मेबारी लिन सक्नुहुन्छ त ? प्रश्न यो पनि छ ।
अर्को तर्फ यस्तो समस्या देखिएर शिक्षा मन्त्रालयले नै अनुसन्धान थालिसकेको अवस्थाले पनि पुष्टी गर्छ की त्यहाँ गैरकानुनी धन्दा छ ।
कान्तिपुर समाचारका लागि क्यामेरामा विकाश जोशी र विनोद कोजूका साथ काठमाडौं ।