काठमाडौं । इजरायल र इरानबीचको घातक द्वन्द्व छैटौं दिन पनि जारी रहँदा यस युद्धमा अमेरिकाको सम्भावित संलग्नतालाई लिएर तेहरानले वासिंगटनविरुद्ध कडा चेतावनी जारी गरेको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प भने इरानविरूद्धको युद्धमा इजरायलसँग संलग्न हुने नहुनेबारे विचार विमर्शमा रहनु भएको छ ।
इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिकाले यस युद्धमा हस्तक्षेप गरे अपुरणीय क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय टेलिभिजनमार्फत् प्रसारित गरिएको भिडियो सन्देशमा खामेनीले इरानले आत्मसमर्पण नगर्ने दृढता व्यक्त गर्नुभएको छ ।
यसअघि हिजो ट्रम्पले इरानलाई निशर्त आत्मसमर्पण गर्न चेतावनी दिनुभएको थियो । सामाजिक संजाल ट्रुथ सोशलमा पोष्ट गर्दै ट्रम्पले अमेरिकाको धैर्य कम हुँदै गएको भन्दै निशर्त आत्मसमर्पण गर्न इरानलाई धम्की दिनुभएको थियो । साथै उहाँले इरानी सर्वोच्च नेता आयातुल्लाह अलि खामेनी कहाँ लुकेर बसेका छन् भन्ने आफूलाई थाहा भएको तर अहिले उहाँलाई समाप्त पार्ने कुनै योजना नरहेको पनि बताउनु भएको थियो ।
यसैबीच रूसी उपविदेशमन्त्री सेर्गेइ र्यादकोभले अमेरिकाले इजरायललाई प्रत्यक्ष सहयोग गरेमा यसले मध्यपूर्वको अवस्थालाई चरम रूपमा अस्थिर बनाउने बताउनुभएको छ । साथै उहाँले इरान-इजरायल द्वन्द्वका सम्बन्धमा मस्को र वासिंगटन निरन्तर सम्पर्कमा रहेको समेत बताउनु भएको छ ।
इरानी सर्वोच्च नेताको चेतावनी आउनुअघि ट्रम्पले इरानविरूद्धको युद्धमा अमेरिका संलग्न हुने-नहुने विषयमा आकस्मिक बैठक डाकेर राष्ट्रिय सुरक्षा टोलीसँग करीब डेढ घण्टा छलफल गर्नुभएको थियो ।
यो युद्धमा अमेरिका संलग्न हुने बारे ट्रम्पका सल्लाहकारहरूको मत भने बाझिएको थियो । अमेरिका यो युद्धमा संलग्न भएमा उसको लक्ष्य जमिनमुनि गहिरोस्थानमा अवस्थित इरानको फोर्दो परमाणु केन्द्रमा आक्रमण गर्नु हुनेछ ।
उक्त परमाणु केन्द्रलाई ध्वस्त पार्न निकै शक्तिशाली बम चाहिने र अमेरिकासँग यसलाई ध्वस्त पार्न सक्ने क्षमताको ३० हजार पाउण्डको बम रहेको जनाइएको छ । फोर्दो परमाणु केन्द्र अन्तर्राष्ट्रिय निगरानीकर्ता र विज्ञहरूका लागि निकै समयदेखि अत्यधिक चिन्ताको विषय रहेको छ भने इरान परमाणु बम बनाउने दिशामा निकै अघि बढिसकेको आशंका गरिएको छ ।
उता इजरायल र इरानले एक अर्कामाथि आक्रमण गर्ने कार्यलाई छैटौं दिन पनि जारी राखेका छन् । इरानले तेलअबिबतर्फ हाइपरसोनिक क्षेप्यास्त्र 'फताह वन' क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
बुधबार बिहान इरानले दुई चरणमा गरी इजरायलतर्फ क्षेप्यास्त्रको वर्षा गरेको र तेल अबिबमा विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ । इजरायलले तेहरानमा रहेका इरानी सैन्य ठेगानालक्षित आक्रमण बुधबार पनि जारी रहेको जनाएको छ ।
यसअघि इजरायलले गएराति तेहरानस्थित इरानी हतियार भण्डार र दुई वटा यूरेनियम प्रवर्धन स्थलमा आक्रमण गरेको जनाएको थियो । गएरातिको आक्रमणमा ५० भन्दा बढी इजरायली लडाकु विमानको संलग्नता रहेको जनाइएको छ ।