कम्बोडियामा पक्राउ परेका मितेरी सहकारी ठगीका आरोपी ज्योतिबहादुर भण्डारी नेपाल ल्याइँदै

बयानपछि धनराज गुरूङको स्थिति स्पष्ट हुने, ज्योति गुरुङ भने अझै फरार
असार ४, २०८२ |रमेश धमला
कम्बोडियामा पक्राउ परेका मितेरी सहकारी ठगीका आरोपी ज्योतिबहादुर भण्डारी नेपाल ल्याइँदै

काठमाडौं । मितेरी सहकारीको रकम हिनामिनाको आरोप लागेर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरेर आज नेपाल ल्याइँदै छ । 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको समेत नाम मुछिएको मितेरी सहकारीको रकम हिनामिनासम्बन्धी उजुरीले पनि अब गति लिने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआइबीले जाहेरी लिएर केही तथ्य खोजी गरेको थियो । तर सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराजकै पूर्वपत्नी ज्योति गुरूङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ नपर्दा अनुसन्धानले गति लिन सकेको थिएन । 

अब भने सहकारीको १४ करोड रकम अपचलनमा धनराजको भूमिका खुल्ने विश्वास प्रहरीको छ । ललितपुरको मितेरी सहकारीको १४ करोड रूपैयाँ हिनामिनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरू गरेको एक वर्ष भयो । तर सहकारीकै सञ्चालकहरूले जसका विरूद्ध जाहेरी दिएका थिए ती आरोपी फरार देखिएपछि अनुसन्धानले लय लिन सकेको छैन । 

यो सहकारी ठगीमा कांग्रेसका उपसभापति धनराज गुरूङको नामसमेत मुछिएको छ । सहकारीको रकम हिनामिनाका मुख्य आरोपी हुन् धनराजकी पूर्वश्रीमती ज्योति गुरूङ र ज्योतिमार्फत् पैसा ठगी गरेको आरोप लागेका ज्योतिबहादुर भण्डारी । तर दुवै फरार । 

इन्टरपोलमार्फत रेड नोटिस जारी गरेर खोजी गर्दा प्रहरीले ज्योतिबहादुर कम्बोडियामा पक्राउ परेको खबर पायो । ज्योतिबहादुरले कम्बोडियामा पनि फौजदारी अपराधमा पक्राउ परेर सजाय भोगेका थिए । उनी जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी मुद्दाका फरार प्रतिवादी पनि हुन् । ज्योतीबहादुर पक्राउ परेपछि अब इन्टरपोलमार्फत भण्डारीलाई काठमाडौं ल्याएर थप अनुसन्धान सुरू गरेमा यो ठगी धन्दाको थप रहस्य खुल्ने छ ।

धनराजकी पूर्वश्रीमती ज्योति गुरूङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन् । २०७५ सालमा सहकारीको प्रमुख कार्यकारी अधिकृत भएकी ज्योतिले रकम अपचलन गरेको सञ्चालक समितिका सदस्यहरूको दाबी छ । 

तत्कालिन अवस्थामा ज्योतिले बैंककमा रहेका ज्योतिबहादुर भण्डारीलाई नै रकम पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । ज्योतिले सहकारीको करिब ६ करोड रकम अपचलन गरेको दाबी गरिएको छ । बढी पैसा आउने नाममा ज्योति गुरूङले ज्योति भाण्डरीकै लागि ५० जना भन्दा बढीको खातामा पैसा जम्मा गरेको खुलेको छ । तर पछि ज्योति भण्डारी गायब भएपछि सहकारीको पैसा डुबेको आशंका छ । 

थाइल्यान्डमा हुँदा भण्डारीले सहकारीको सञ्चालक समितिलाई डुबेको पैसा पार्सलमार्फत पठाउने भन्दै थप ३ करोड ४४ लाख ७६ हजार लिएको खुलेको छ । सञ्चालक समितिका अन्य व्यक्तिले पनि वचतकर्ताको ३ करोड ४४ लाख डुबाएको आशंका सीआईबीको छ । 

सीआइबीमा उजुरी गर्ने व्यक्ति सञ्चालक समिति सदस्य बोधराज थापा हुन् । सञ्चालक समितिले अहिलेसम्म सहकारीका बचतकर्ता र रकमबारे खुलाएको छैन । तर ज्योतीबाट ब्याजसहित १४ करोड असुल गर्नुपर्ने दाबी गर्दै आएको छ ।

ज्योतिको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको छ । यसमा पछि ८४ लाख थप भएको हो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएको देखिन्छ ।

स्रोतका अनुसार ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको छ । तर ज्योतिले सहकारीमा तिरेको १ करोड १३ लाख कहाँबाट आयो भन्ने स्रोतको खोजी गर्दा उनी जोडिन सक्नेतर्फ पनि अनुसन्धान केन्द्रित छ । 

ज्योति गुरूङ २०७७ साल फागुन १४ गते अमेरिका गएको भेटिएको छ । त्यस्तै बागमती प्रदेशबाट कारवाहीका लागि सिफारिस भएर आएका अन्य तीन जना सुजन शाक्य, प्रकाश यादव र हितमान थापाको नामबाट थाइल्याण्ड पैसा गएको देखिए पनि उनीहरूको स्पष्ट पहिचान हुन सकेको छैन । उनीहरूलाई नक्कली नाम खडा गरिएको हुन सक्ने प्रहरीको आशंका छ । अब भण्डारी पक्राउ परेकाले धनराज माथि लागेको आरोप पनि प्रष्ट हुने विश्वास प्रहरीको छ ।

कान्तिपुर समाचारका लागि  काठमाडौं ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।