बारा । पाँच वर्षअघिसम्म आफ्नो नाममा एक धुर जग्गा नभएको अवस्था अनि अहिले एक कठ्ठा जग्गामा बनेको पक्की घर। यो कायाकल्पको कथा हो बाराको कलैयाकी सिकिलदेवी पासवानको ।
सिकिलदेवीका तीन भाइ छोराहरू पालैपालो वैदेशिक रोजगारीमा कतार गएपछि ऐलानी जग्गामा सानो छाप्रोमा गुजारा गर्ने अनि शिक्षाको पहुँचबाट परै रहेको यो परिवार अहिले समुदायमा भैपरिआउँदा सरसापट दिनसक्ने भएको छ ।
उहाँ हुनुहुन्छ बारा कलैया उपमहानगरपालिका १४ बघवन बस्ने सिकिलदेवी पासवान । कुनै समय छाप्रोमा बसिरहेको सिकिलदेवीको परिवार पाँच वर्षदेखि पक्की घरमा छ । यो सब परिवर्तको एउटै स्रोत हो वैदेशिक रोजगारीमा गएका किसिलदेवीका छोराहरूले पठाउने रेमिट्यान्स ।
सात वर्ष पहिला ऋण लिएर उहाँले माइला छोरा प्रदीपलाई कतार पठाउनुभयो । कतारमा प्रदीप एउटा ठूलो डिपार्टमेन्टल स्टोरमा क्लिनरको काम गर्नुहुन्छ । काममा दक्षता हासिल गर्दै जाँदा अहिले प्रदीपको कमाइ निकै राम्रो छ ।
मासिक ७० हजार रूपैयाँ उहाँले नियमित पठाइरहनुभएको छ । प्रदीपले सबैभन्दा पहिले आफू जाँदा लागेको ऋण तिर्नुभयो । उहाँका दाजु र भाइले पनि कमाइ गर्न कतार नै जाने निर्णय गरे ।
सिकलदेवीका तीनै भाइ छोरा हाल कतारमा छन् । कान्छाको कमाइ त्यति राम्रो नभए पनि जेठा र माइलाले नियमित रूपमा घरमा पैसा पठाइरहेका छन् । पहिले आफ्नो नाममा एक धुर जग्गा पनि नभएकाले ऐलानीमा सानो छाप्रो बनाएर बस्न बाध्य सिकिलदेवीको परिवार १ कठ्ठा जग्गा खरिद गरी २० लाख लगानीमा पक्की घर बनाएर बसेको छ ।
जीवनको लामो कालखण्ड एलानी छाप्रोमा बिताएकी बुधियादेवी नातिले विदेशबाट पठाएको रेमिट्यान्सले बनेको पक्की घरमा बस्न पाउानुलाई सपनाजस्तै ठान्नुहुन्छ । पहिले भोगेका दुख-कष्ट नाति विदेश गएपछि सकिएको भन्दै गर्दा उहाँको अनुहारमा खुसी छल्किन्छ ।
सिकिलदेवीका श्रीमान लामो समयदेखि बिरामी हुनुहुन्छ । अस्पतालको निरन्तरको उपचार खर्च छोराहरूकै कमाइले धानिएको छ । छोराछोरीलाई राम्रो विद्यालयमा पढाइरहेको यो परिवारले गाउँघरमा कसैलाई अप्ठारो पर्दा सहयोग गर्नसक्ने भएको छ । यो सबै परिवर्तन सिकिलदेवीका छोराहरूको वैदेशिक रोजगारीको यात्राले ल्याएको हो ।