काठमाडौं । नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन्।
समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुवास तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। राहुलले आज ६-अन्डर ६६ स्कोर गरे।
पहिलो दिनका संयुक्त लिडर सुवासले आज बोगीरहित ५-अन्डर ६७ स्कोर बनाए। समग्रमा उनले १५-अन्डर २ सय १ स्कोर बनाएका हुन्। एमेच्योर सद्भाव आचार्यले आज ५-अन्डर ६७ को स्कोर जोड्दै १३-अन्डर २ सय ३ स्कोरका साथ तेस्रो स्थानमा छन्।
११-अन्डर २ सय ५ को स्कोरसहित निरज तामाङ र भुवन नगरकोटी संयुक्त रूपमा चौथो स्थानमा रहे। भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन्। उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन्।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ। विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को यो अन्तिम प्रतियोगितासमेत हो।