बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरें : सभापति थापा

जेष्ठ ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरें : सभापति थापा

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारीबीचको सहमतिमा हस्ताक्षर गरेको बताउनुभएको छ । शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सभापति थापाले आफूले हस्ताक्षर नगरेसम्म शिक्षक आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको बताउनुभएको हो ।

आफूलाई कसैले जबर्जस्ती हस्ताक्षर नगराएको स्पष्ट पार्दै उहाँले नैतिक रूपमा नगरी नहुने वातावरण सिर्जना भएपछि हस्ताक्षर गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार र आन्दोलनकारीबीचको सम्झौता संसद्‌भित्र प्रवेश गर्नु भनेको कमजोरी थियो । मैले त्यहाँ पनि यही शब्द भनेको थिएँ संसदीय प्रणाली विपरीत मलाई सही नगराउनुस् भनेको थिएँ । त्यसैलाई जबर्जस्ती भन्ने शब्द परेको हो । नत्र मैले जबर्जस्ती हात समाएर गराएको भनेको छैन । मलाई नैतिक रूपले नगरी नहुने वातावरण सिर्जना भएको हो ।”

सरकार र आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेपछि समितिभित्र आफू आलोचित हुनुपरेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “उपसमितिले पनि भनेको थियो त्यहाँ गएर सही नगर्नु होला है । अब त्यहाँ गएर म सही नगरेरै आउन खोजेको हो । मैले सही नगरेसम्म त्यो रोकिँदै नरोकिने भएपछि मैले सही गर्न बाध्य भएको हुँ । मैले त्यो विषयमा धेरै आलोचना खेप्नु पनि पर्‍यो । देशको समस्या समाधान हुन्छ भने त्यो गर्नु कुनै ठूलै अपराध थियो कि भन्ने पनि भएन ।” 

उहाँले विद्यालय शिक्षा विधेयक छिटो छरितो पेश गर्ने वातावरण बनाउनुपर्ने पनि बताउनुभयो । “छलफल नै बाँकी रहेकोले १५ गते त सम्भावना देखिँदैन । त्यसो हुँदा लगातार छलफल गरेर अघि बढ्यौं भने अझै पनि सम्भव छ”, उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.