काठमाडौं । नवनियुक्त प्रशिक्षक प्याटि्रक डि वाइल्डले अहिले नेपाली महिला फुटबल टिमलाई एसियन कप छनोटको अन्तिम तयारी गराइरहेका छन्।
दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा नेपाली टिमले अहिले आफ्ना कमजोरीहरू हटाउने प्रयास गरिरहेको छ । आउँदो असार १५ गते उज्वेकिस्तानमा सुरू हुने छनोटबाट नेपाल पहिलो पटक एसियन कपमा छनोट हुने योजनामा छ।
थाइल्यान्डसँगको दुई अभ्यास खेलपछि नेपाली महिला फुटबल टिम यतिबेला आफ्नो कमजोरी सुधारका साथै गोलस्कोरिङ मजुबत बनाउने अन्तिम प्रयासमा छ। एसियन कप छनोटमा नेपाल रहेको समूह एफमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंका छन्।
यी टोलीलाई हराउँदै एसियन कपमा छनोट भएमा नेपाली फुटबलका खेलका अन्य अवसर आउनेछन्। नभए फेरि लामो समय फुटबलविहीन बनेर बस्नुपर्ने हुनसक्छ। त्यसैले यो छनोट नेपाली महिला फुटबलमा अर्को कठिन परीक्षासमेत हो।
फ्रान्समा लिग खेलेकी सावित्रा भण्डारी, युएईमा लिग खेलिरहेकी रेखा पौडेल र ग्रिस लिगको अनुभव लिएर फर्किएकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यसपटक लामो समय नेपाली टिममा विताएका छन्।
फुटबल संघ, एन्फालेसमेत हंगेरी, चीन, सोमालिया र रूवान्डाको राष्ट्रिय टिमका टोलीलाई प्रशिक्षण गराएको अनुभव भएका प्रशिक्षक प्याट्रिकलाई महिला टोलीको बागडोर सुम्पिएको छ।
उनले नेपाली महिला फुटबल टिमको समस्या पहिचान गरेर समाधानका सबै प्रयास गरिरहेका छन्। अनुभवी प्रशिक्षकको आगमनले नेपाली खेलाडी आत्मविश्वासी र आफ्नो भूमिकामा स्पष्ट बनेका छन्।
महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेपछि चार देशसम्मिलित महिलाको प्रतियोगितामा पनि नेपाल फाइनलमा पराजित भयो । भर्खरै मात्रै थाइल्यान्डसँग पनि पराजित हुँदा डिफेन्सलाई लिएर धेरै प्रश्न उब्जिएका छन्। यसलाई पनि प्रदर्शनबाट जवाफ दिने योजनामा छन् नेपाल महिला टिमका डिफेन्डर।
नेपालले एसियन कप छनोटमा असार १५ गते लाओस, १८ गते श्रीलंका र २१ गते उज्वेकिस्तानसाग खेल्ने तालिका छ। फिफाको वरियतामा लाओस र श्रीलंका नेपालभन्दा पछि रहे पनि उज्वेकिस्तान नेपालभन्दा निकै बलियो टोली हो। तर एसियन कपमा छनोट हुने हो भने सबै विपक्षीलाई ध्यानमा राखेर खेल्नुपर्ने हुन्छ।