राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण माग गर्दै जिप्रका धनुषामार्फत् प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

जेष्ठ २७, २०८२ |अमरकान्त ठाकुर
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण माग गर्दै जिप्रका धनुषामार्फत् प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

जनकपुर । राजर्षि जनक विश्वविद्यालयको मुल भवन निर्माणको मागसहित जिल्ला प्रशासन कार्यालय धनुषामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ ।

विश्वविद्यालय भवन निर्माण समन्वय तथा सहजकर्ताहरूले विश्वविद्यालय भवन निर्माणको लागि गुठी संस्थानसँग लिजमा लिएको नगराइन नगरपालिका फुलगामास्थित मनियारी चौरीको जग्गामा यथाशीघ्र भवन निर्माणको मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।

विश्वविद्यालयसँग भौतिक पूर्वाधार निर्माणको लागि पर्याप्त रकम रहेको र भवन निर्माणकै लागि गुठी संस्थानसँग गत वर्ष ४३ बुन्दे सम्झौता गरी वार्षीक ५ लाख तीर्ने गरि २५ वर्षको लागि ९ विग्घा १४ कठ्ठा १३ धुर जग्गा लिजमा लिएपनि भवन निर्माणतर्फ विश्वविद्यालय प्रशासन मौन रहनु शंकास्पद रहेको ज्ञापन पत्रमा उल्लेख छ । 

विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहमा कुलपतिको हैसियतले प्रधानमन्त्री ओली जनकपुर आउन लागेको पूर्व सन्ध्यामा उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । विश्वविद्यालयसँग रकम र जग्गा रहेपनि मासिक ६ लाखको भाडा तिरेर विश्वविद्यालय सञ्चालन गरिँदैछ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।