निम्न माध्यमिक विद्यालयमा रिक्त ७ सय शिक्षकका लागि भएको परीक्षामा ५८ हजारभन्दा बढी सहभागी

प्राविमा बर्सेनि पाँच हजार शिक्षक रिक्त हुँदा पनि पदपूर्तिमा बेवास्ता
जेष्ठ १७, २०८२ |देव राना|नारायण किलम्बू
निम्न माध्यमिक विद्यालयमा रिक्त ७ सय शिक्षकका लागि भएको परीक्षामा ५८ हजारभन्दा बढी सहभागी

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुलातर्फ ७ सय रिक्त दरबन्दीका लागि लिइएको परीक्षामा ८३ गुणा बढी अर्थात् ५८ हजारले परीक्षा दिएका छन् । 

विद्यालय तहमा दरबन्दी लामो समयदेखि रिक्त भए पनि सरकारले नियमित रूपमा विज्ञापन नखोल्दा योग्य जनशक्ति सेवा प्रवेशबाट वञ्चित छन् । सोही कारण आंशिक रूपमा खोलिएका शिक्षक विज्ञापनमा धेरै आवेदन परेको हो । निमावि तहमा केही विज्ञापन खोलिए पनि प्राथमिक तहमा भने यस वर्ष पनि सरकारले पदपूर्तिका लागि चासो देखाएन ।

सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि योग्य शिक्षक छनोट गर्ने उद्देश्यले शिक्षक सेवा आयोगले शनिबार निम्न माध्यमिक तहको खुलातर्फका लागि परीक्षा लियो । देशभरका २३२ परीक्षा केन्द्रमार्फत लिइएको परीक्षामा ७ सय पदका लागि ५८ हजार सहभागी भए, जुन मागभन्दा ८३ गुणा बढी हो ।

२०७५ सालको दरबन्दी मिलान प्रतिवेदनले देशभरका सामुदायिक विद्यालयमा ५७ हजार शिक्षक आवश्यक रहेको देखाएको थियो । तर, प्रतिवेदन अनुसार विज्ञापन खुलाउन सरकारले चासो देखाएको छैन । गत वर्ष प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि केही संख्यामा विज्ञापन गरिएको थियो भने यस वर्ष निमावि तहका लागि जम्मा ७ सय पदपूर्ति गर्न लागिएको छ । तर, सबैभन्दा बढी आवश्यक रहेको प्राथमिक तहमा भने विज्ञापन खुलाइएको छैन । प्रावि तहमा हरेक वर्ष ५ हजार शिक्षक दरबन्दी रिक्त हुने गर्छ ।

शिक्षक सेवा आयोगका अनुसार शिक्षक लाइसेन्स लिएर बसेकाको संख्या झन्डै ११ लाख पुगेको छ । दरबन्दी मिलान प्रतिवेदनले निमावि र माविमा धेरै दरबन्दी अभाव रहेको र नयाँ थप्नुपर्ने सुझाव दिए पनि कार्यान्वयन गर्न सरकारले ध्यान दिएको छैन ।

सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गइरहेका बेला परीक्षार्थीहरूले भने विद्यालय शिक्षा सुधार गर्ने आफूहरूको लक्ष्य रहेको बताएका छन् ।

शिक्षकको रिक्त दरबन्दी विवरण उपलब्ध नगराउँदा करार नियुक्ति गर्नुपर्ने बाध्यता आइपर्छ । अहिले पनि धेरै जसो विद्यालयहरूमा अङ्ग्रेजी, विज्ञान र गणित विषय शिक्षकको विज्ञापन गर्दा आवेदन नै नपर्ने अर्को समस्या छ । कमजोर नतिजा भएका विद्यार्थीहरू शिक्षा संकायमा आउने गरेकाले पनि विद्यालय शिक्षा कमजोर भइरहेको भनेर आलोचना हुने गरेको छ । 

त्यसैले सरकारले सामुदायिक विद्यालय शिक्षा सुधार्ने हो भन्ने नयाँ र क्षमतावान जनशक्ति प्रवेश गराउन नियमित विज्ञापन खोल्नुपर्ने देखिन्छ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।

Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।