मनराशिसवा नगरपालिकाले वर्षे विदाबाट कट्टा गरेर भएपनि विद्यार्थीहरूको पठनपाठन गराउने

वैशाख ९, २०८२ |विकास ठाकुर
मनराशिसवा नगरपालिकाले वर्षे विदाबाट कट्टा गरेर भएपनि विद्यार्थीहरूको पठनपाठन गराउने

महोत्तरी । जिल्लाको मनराशिसवा नगरपालिकाले वर्षे विदाबाट कट्टा गरेर भएपनि विद्यार्थीहरूको पठनपाठन तथा पाठयक्रम पुरा गराउने निर्णय गरेको छ । 

मनराशिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयको अध्यक्षतामा सोमबार बसेको नगर कार्यसमितिको बैठकले शिक्षकहरूको आन्दोलन लम्बिएपनि विद्यार्थीहरुको शैक्षिक वातावरण नखल्विलिने गरी पठनपाठन गरिने निर्णय गरेको हो ।

नगरप्रमुख पाण्डेयले बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा शिक्षकहरूले जायज माग राखि गरिरहेको आन्दोलन लम्बिने भएपनि पालिकामा वर्षेविदा तथा अन्य विदा कट्टा गरेर भएपनि विद्यार्थीहरूको विषय पुरा गरिने बताउनुभयो ।

विद्यार्थी तथा अभिभावकहरूले विद्यालय सञ्चालन गर्न दबाब दिइरहेको समयमा नगरपालिकाले विद्यार्थी तथा अभिभावकहरूलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ ।

पालिकाको २३ विद्यालयको २१५ शिक्षकहरू आन्दोलनमा गएका कारण पालिकाको १३ हजार ६०२ विद्यार्थीको पढने पाउने अधिकार हनन भइरहेकोले नगरपालिकाले त्यस्तो निर्णय गरेको बताउनुभयो ।

सरकारले शिक्षकहरूको जायज मागलाई पुरा गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले शिक्षा नीति अनुसार ५० दिनको वर्षे विदा तथा अन्य ९५ दिन गरी २२० दिन विदा हुने भएकोले सो विदाबाट कट्टा गरी पठनपाठन गर्नुपर्ने बताउनुभयो ।

शिक्षकहरू आफ्नो माँगसहित विगत २० दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको कारण अहिले विद्यालय बन्द रहेको छ । नतिजा प्रकाशित गरि शैक्षिक सत्र शुरु गर्ने बेला शिक्षकहरू आन्दोलनमा भएको हुँदा विद्यार्थीहरू अन्यौलमा रहेको अभिभावकहरू गुनासो गरिरहेका छ्न ।

वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परिक्षा समेत शिक्षक आन्दोलनको कारणले अन्यौलतामा रहेको छ ।


Image

विकास ठाकुर

ठाकुर कान्तिपुर टीभीका महोत्तरी संवाददाता हुन् ।