काठमाडौं । यो विद्यार्थी भर्ना अभियानको बेला हो । शिक्षकहरू आन्दोलन नहुँदा हुन् त कुनै पनि बालबालिका विद्यालय बाहिर नहोऊन् भनेर भर्ना अभियान चलाइरहेका हुन्थे । तर शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना नै लिएका छैनन् ।
संस्थागत विद्यालयले धमाधम विद्यार्थी भर्ना लिइँरदा सामुदायिक विद्यालयहरू भने बन्द छन् । विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू घरटोलमा साथीभाइसँग खेलेर समय बिताउन थालेका छन् ।
नयाँ पुस्तक र विद्यालय पोशाक किन्ने समय भइसक्दा पनि भर्ना हुन नपाएका विद्यार्थी शिक्षकको आन्दोलनका कारण कोर्स पूरा नहुने र पढाइको स्तर खकिन्ने चिन्ताले शिक्षकका माग पूरा गरेर विद्यालय सञ्चालन हुने वातावरण बनाइ दिन आग्रह गर्छन् ।
लामो समयसम्म विद्यालय बन्द हुँदा अभिभावकलाई भने बालबालिकाहरू कुलतमा फस्ने र पढ्ने बानी बिग्रिने हो कि भन्ने त्रास छ ।
सरकारले शिक्षा विधेयक नल्याउादासम्म आन्दोलन जारी राख्ने अडान लिएका शिक्षकहरू भने चाडपर्व र बर्खे बिदालाई समायोजना गरेर विद्यार्थीको सिकाइ पूरा गर्ने बताउँछन् ।
शिक्षकहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान मात्र प्रभावित भएको छैन कतिपय स्थानीय तहमा कक्षा ८ को नतिजासमेत प्रकाशित हुन सकेको छैन । आन्दोलन अझै लम्बिएमा सामुदायिक विद्यालयको शैक्षिकस्तर अझै खस्कने जोखिम छ ।
यसले ११ बैशाखदेखि हुने तय भएको कक्षा १२ को परीक्षालाईसमेत प्रभावित पार्ने देखिएको छ ।