प्रधानमन्त्री भेटेर पनि शिक्षकहरू भएनन् आश्वस्त, ऐन नआएसम्म आन्दोलन नरोकिने

भोलिदेखि बिहान ९ बजेदेखि नै माइतीघर-बानेश्वर सडक अवरुद्ध गरी प्रदर्शन गर्ने
वैशाख ६, २०८२ |नारायण किलम्बू
प्रधानमन्त्री भेटेर पनि शिक्षकहरू भएनन् आश्वस्त, ऐन नआएसम्म आन्दोलन नरोकिने

काठमाडौं । प्रधानमन्त्री र सभामुखसँग हिजो गरेको छलफलपछि पनि विश्वस्त हुन नसकेका शिक्षकहरूले आन्दोलन नरोक्ने भएका छन् । चैत २० गतेबाट दैनिक मध्याह्न १२ देखि ३ बजेसम्म काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले भोलिदेखि बिहान ९ बजेदेखि नै माइतीघर-बानेश्वर सडक अवरुद्ध गरी प्रदर्शन गर्ने घोषणा गरेका छन् । 

सरकारले संसद्को बजेट अधिवेशनमा विधेयक पारित गर्ने आश्वासन दिइरहेको छ भने शिक्षकहरू विधेयक पास भएपछि मात्र सडक छाड्ने अडानमा छन् ।

आन्दोलनरत नेपाल शिक्षक महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार राति ९ बजेदेखि साढे दुई घण्टा छलफल भयो । त्यसक्रममा महासंघ प्रतिनिधिहरूले बालविकास केन्द्र, विद्यालय कर्मचारी, साविक उच्चमावि, अस्थायी, तथा राहत शिक्षकको स्थायित्व र पारिश्रमिकको सुनिश्चिता, ग्रेड मिलान, तलब समायोजनका साथै शिक्षा विधेयक जारी गर्नुपर्ने लगायतका माग विस्तृत रूपमा प्रधानमन्त्रीसमक्ष राखे । 

जवाफमा प्रधानमन्त्री ओलीले संसद्को बजेट अधिवेशनमा विधेयक टेबल हुने र पास गर्ने प्रतिबद्धता जनाउनुभयो । एक घण्टा १५ मिनेट बोल्नु भएका प्रधानमन्त्रीले सत्तारुढ दल तथा साँसदसँग छलफल गरी विधेयक छिटो पास गर्ने पक्षमा रहेको बताउनुभएको थियो ।

त्यसपछि शिक्षक महासंघको टोली सभामुख देवराज घिमिरेलाई भेट्न राति पौने १२ बजे उहाँको निवास पुग्यो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशीसँगको एक घण्टा लामो छलफलमा सभामुख घिमिरेले शिक्षा समितिले ११ गतेभित्र टुङ्ग्याएर पेश गरे दुई दिनभित्र विधेयक पास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तर शिक्षकहरू प्रधानमन्त्री र सभामुखसँगको छलफलबाट पनि शिक्षा विधेयक पास हुनेमा विश्वस्त हुन सकेनन् । सोही कारण उनीहरूले अब बिहान ९ देखि १२ बजेसम्म माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । उधारो आश्वासन र प्रतिबद्धताले माग पूरा हुने विश्वास नभएकाले शिक्षा ऐन नआएसम्म आन्दोलनलाई निरन्तरता दिने शिक्षकहरूको भनाइ छ ।

विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक-कर्मचारी चैत २० देखि अनिश्चितकालीन शैक्षिक हडतालमा उत्रिएका हुन् । सडक आन्दोलनका कारण लाखौं बालबालिका पढ्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।