काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर-बबरमहल सडकमा यातायात सेवा प्रभावित भएको छ । शिक्षकहरुले सडक ढाकेर प्रदर्शन गरेपछि यातायात सेवा प्रभावित भएको हो ।
प्रदर्शनमा सहभागीहरुले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन् । शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्दि्रत आन्दोलन गरिरहेका छन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक-कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै, शिक्षकका मागसमेत सम्बोधन गर्न भन्दै वैशाख १२ गतेदेखि संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारबाट पटकपटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघका महासिचव ज्ञानेन्द्र रावलले ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने बताउनु भयो ।
यसैबीच, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक र कर्मचारीलाई काठमाडौं बोलाउनुभएको छ । शिक्षकहरु विद्यालय बन्द गरी शैक्षिक हड्तालमा उत्रिएपछि नयाँ शैक्षिक सत्रको भर्ना अभियानदेखि पठनपाठनसम्मका सबै कार्यक्रम प्रभावित भएका छन् ।