काठमाडौं । शिक्षकहरुका माग सम्बोधन गर्ने विषयमा सरकारले आज मन्त्रालयगत छलफल थालेको छ । शिक्षकहरु भने आज १४औं दिन पनि आन्दोलनमै छन् ।
सहमति कार्यान्वयन र शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु आज १४औं दिन पनि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरुका माग सम्बोधन गर्न भन्दै अर्थ, गृह र शिक्षा मन्त्रालयबीच आजै छलफल भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईबीच आज छलफल भएको हो । शिक्षामन्त्री भट्टराई र संसदको शिक्षा समितिबीच पनि छलफल भएको छ ।
शिक्षकहरुले भने सरकारले उधारो सहमति गर्न खोजेको र शिक्षकको हित नहुने गरी आफूखुसी मन्त्रिपरिषद्बाट सम्बोधन गरेजस्तो देखाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।
शिक्षकहरुको आन्दोलन र सरकारको बेवास्ताका कारण लाखौं बालबालिकाको शैक्षिक भविश्य जोखिममा परेको छ । शैक्षिक सत्र सुरु भैसक्दा पनि शिक्षकहरु विद्यालयमा ताला लगाएर काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकारले उनीहरुसँग गरेका सहमति कार्यान्वयनमा बेवास्ता गरिरहेको छ ।