एसईई सम्बन्धित विद्यालयले नै लिनेबारे शिक्षा समितिको उपसमितिमा सहमति

चैत्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसईई सम्बन्धित विद्यालयले नै लिनेबारे शिक्षा समितिको उपसमितिमा सहमति

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको विवाद टुंगो लगाउन गठित उपसमितिले माध्यमिक शिक्षा परीक्षा–एसईई सम्बन्धित विद्यालयले नै लिने विषयमा सहमति जुटाएको छ । उपसमितिले विद्यालय शिक्षाको परीक्षा प्रणाली परिवर्तन गरी एसईई विद्यालय तहमै गर्ने सहमति जुटाएको हो । 

यस अनुसार शिक्षा विधेयक पारित भएपछि एसईई केन्द्रीकृत रूपमा नहुने भएको छ । समितिले आधारभूत तह कक्षा ८ को परीक्षा स्थानीय तहले र माध्यमिक तह १२ कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गरी सहमति गरेको हो ।

उपसमितिमा शिक्षा विधेयकका १६३ दफामध्ये ७९ वटामा सहमति भइसकेको संयोजक विश्वकर्माले जानकारी दिनुभयो । उपसमितिले सांसद, ७ वटै प्रदेश, सरोकारवाला र विज्ञबाट आएका सुझावलाई आधार मानेर छलफल गरी दफाहरू टुंग्याउँदै लगेको जनाएको छ । 

विधेयकमा परेका १७ सय ५८ संशोधनमध्ये ११ सय वटामा छलफल गरिसकेको समेत समितिले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.