काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) माथि यौन दुर्व्यवहार कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । झा २०७७ फागुन ७ देखि २०७८ भदौ २ गतेसम्म मधेशको प्रदेश प्रमुखको जिम्मेवारीमा थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले महिला सेलले झामाथि फौजदारी कसुरमा परेको जाहेरीका आधारमा अनुसन्धान भइरहेको बताउनुभयो । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यति बेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो भने कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।