कांग्रेस र एमालेका प्रमुख नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

सरकारको कार्यसम्पादनमा उठेका प्रश्न र नियुक्तिका विषयमा छलफल
वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस र एमालेका प्रमुख नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता सञ्चालनको विषयलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएका बेला सरकारलाई सघाउन गठित दुबै दलका प्रमुख नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरू सहभागी छन् । १० सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारी नियुक्ति, प्रहरी बढुवा र सरकारका कामकारबाहीका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । 

सरकारले कामको गति बढाउन नसकेको र अलमलमा परेको भन्दै संयन्त्रमै रहेका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । विशेषगरी नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला लगायतले सरकारले काम गर्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गर्दै आउनुभएको छ भने अर्का महामन्त्री शर्माले सरकारको कार्यशैली बदल्नुपर्ने बताउनुभएको छ । आज मात्रै सामाजिक सञ्जाल मार्फत सरकारलाई सुझाव दिँदै उहाँले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अलमल जारी रहेको, शिक्षकका माग सम्बोधनमा ढिलाइ भएको लगायतका सात बुँदा उल्लेख गर्नुभएको छ । महामन्त्री थापाले हिजो मात्रै सरकार ट्र्याक्टर गतिमा गुडेको भन्दै प्रधानमन्त्री ओलीको शयनकक्षसम्मै बिचौलियाले प्रवेश पाउने गरेको आरोप लगाउनुभएको थियो ।

सत्तारुढ दलकै नेताहरुले सरकारको आलोचना गर्दा राम्रो सन्देश नजाने भएकाले यो विषयमा पनि संयन्त्रको बैठकमा छलफल हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.