काठमाडौं । शैक्षिक हड्तालका कारण देशभरका सामुदायिक विद्यालय प्रभावित भएका छन् । विद्यालय शिक्षा ऐन तत्काल बनाउन दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत प्रभावित भएका छन् ।
अहिले वैशाखदेखि सुरु हुने नयाँ भर्ना अभियानका लागि शिक्षकहरु विद्यार्थीको नतिजा प्रकाशनसहित शैक्षिक सत्र सञ्चालनको तयारीमा जुट्नुपर्ने समय हो । तर, शिक्षक आन्दोलनका कारण कक्षा १ देखि ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको उत्तरपुस्तिका नै परीक्षण भएको छैन । जसका कारण नतिजा प्रकाशन नै प्रभावित भएको छ । यसको असर एसइइको उत्तर पुस्तिका परिक्षणमा समेत पर्ने भएको छ ।
देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित सडक आन्दोलन र शैक्षिक हड्तालमा उत्रिएपछि धेरैजसो सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा प्रकाशनसँगै शैक्षिक योजना, क्यालेण्डर, पाठयोजना, तालिमलगायत शैक्षिक गतिविधि ठप्प भएका हुन् ।
देशभर सामुदायिक र निजी गरी ३५ हजार विद्यालयमा ७० लाखभन्दा बढी बालबालिका अध्ययनरत छन् । त्यसमध्ये शिक्षक आन्दोलनका कारण करिव २९ हजार सामुदायिक विद्यालय प्रभावित भएका हुन् । जसले गर्दा वैशाख २ गतेदेखि शुरु हुने नयाँ शैक्षिक सत्र र भर्ना अभियान अन्योलमा परेको छ ।
विद्यालय नै बन्द गरेर शिक्षकहरु काठमाडौं केन्द्रित सडक आन्दोलनमा गएपछि विद्यार्थीमाथि खेलबाड भएको आरोप अभिभावकले लगाएका छन् । तर शिक्षकहरु आफ्ना माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडानमा छन् ।