संसद्काे अवरोध हटाउन सभामुख घिमिरेले गरेको प्रयास असफल

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्काे अवरोध हटाउन सभामुख घिमिरेले गरेको प्रयास असफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् बैठकमा विपक्षी दलहरूले गरिरहेको अवरोध हटाउन गरेको प्रयास असफल भएको छ ।

सभामुख घिमिरेले शुक्रबार दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर संसद्को अवरोध हटाउन आग्रह गर्नुभएको हो । तर, प्रतिनिधिसभाका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान दोहोर्याएपछि सभामुखको प्रयास सफल हुन नसकेको हो ।

प्रतिनिधिसभाको बैठक यही जेठ २० गतेका लागि बोलाइएको छ । सोही सन्दर्भमा संसदमा रहेको अवरोधन खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नभएसम्म सदन चल्न नदिने बताएका हुन् । 

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफूहरुका माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने सदनको अवरोधका विषयमा औपचारिक कुरा नभएको बताउनुभयो । संसद्को क्यालेन्डर बनाउने विषयमा मात्र आजको बैठक केन्द्रित रहेको उहाँको भनाइ थियो । उहाँ विपक्षीहरूले पेशगर्दा जस्तै छलफलका क्रममा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले बजेटमाथिको सैद्धान्तिक छलफलमा क्यालेन्डर बनाउने विषयमा प्रमुख सचेतकहरुको बैठक बोलाउनुभएको हो । त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार १५ गतेसम्मको क्यालेन्डर बनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.