महाभारत गाउँपालिकाको वडा नं ५ मा निःशुल्क तथा अनिवार्य शिक्षा लागू

जेष्ठ १२, २०८२ |पुजन धिताल
महाभारत गाउँपालिकाको वडा नं ५ मा निःशुल्क तथा अनिवार्य शिक्षा लागू

काभ्रे । भौगोलिक दृष्टिकोणले विकट मानिने काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं ५ लाई एक विशेष समारोहका बीच निःशुल्क तथा अनिवार्य शिक्षा लागू भएको वडा घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले शिक्षा सबै नागरिकको मौलिक अधिकार रहेको भन्दै बालबालिकाले आर्थिक, सामाजिक वा भौगोलिक कारणले विद्यालय शिक्षा नपाउने अवस्था अन्त्य गर्ने बताउनुभयो ।

“हामीले वडालाई निःशुल्क तथा अनिवार्य शिक्षा क्षेत्र घोषणा गर्नुको उद्देश्य नै गाउँपालिकाभर शिक्षा पहुँचमा समानता र समावेशीताको सुनिश्चितता गर्नु हो,” उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले पनि पालिकाले शिक्षा क्षेत्रको सुधारतर्फ अघि बढाएको कदमको सराहना गर्नुभयो । 

पालिकाको यो घोषणासँगै वडा नं ५ अन्तर्गतका सबै बालबालिकाले अबदेखि विद्यालय शिक्षाको सम्पूर्ण खर्चबाट मुक्त हुनेछन् ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।