काठमाडौं । स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा सरोकारवालाहरूले विद्यालय खाजामा लगानी बढाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य, वर्ल्डभिजन इन्टरनेशनल नेपाल, क्यानालको सहयोगमा आयोजित परामर्श कार्यक्रममा सरोकारवालाहरूले पोषणयुक्त खाजा बालबालिकाको सिकाइको आधारभूत विषय भएको बताउँदै बलियो जनशक्ति र स्वास्थ मानव पूँजी तयार गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने बताएका हुन् ।
शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न परामर्श कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न तहका सरकारका प्रतिनिधिहरू, नागरिक संघसंस्था, सञ्जाल, विकासका साझेदार संस्थाहरूमा सहभागिता रहेको थियो । कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनलकी उमा मगरले वर्ल्ड भिजन इन्टरनेशनलले बालमैत्री, पोषणमैत्री, बालसंरक्षण प्रवर्द्धन र इनअफ अभियान सञ्चालन गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा बालक्लबका प्रतिनिधिहरूले दिवा खाजा कार्यक्रमको अनुगमन गर्नुपर्ने, बालबालिकासँगको कार्यक्रम भएको हुँदा बालबालिका केन्द्रित विषयमा उनीहरूसँग नै सोधेर अध्ययन गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापहरूले दिवा खाजाको रकम निकासा मासिकरूपमा गरिनुपर्ने, असल अभ्यास अनुभवको आदानप्रदान गर्नुपर्ने, विद्यार्थीलाई प्रदान गरिने खाजाको रकम पर्याप्त नभएको र सबै कक्षालाई नै नहुँदा विभेद देखिएको, विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक शिक्षा प्रवर्द्धन, हालको अवस्थाबारे अध्ययन अनुसन्धान गर्नुपर्ने, स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गर्न सक्नुपर्ने, खरिद प्रणालीमा सहज बनाउनुपर्ने लगायतका सन्दर्भ उठाएका थिए ।
कार्यक्रममा गाउँपालिका महासंघका सदस्य भुपाल पोखरेल र जिल्ला समन्वय समिति महासंघका उपमहासचिव दीपक गौतम, नगरपालिका संघकी प्रतिनिधि सुनिता सुवेदी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्यसचिव इन्द्रादेवी ढकाल लगायतले दिवा खाजा प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव डा. काफ्लेले प्राप्त सुझावलाई ग्रहण गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि बालबालिकाको दिवा खाजा प्रवर्द्धनमा सबै सरोकारवालाको भूमिकालाई जोड दिँदै बालबालिकामा लगानी बढाउनेतर्फ अघि बढ्ने बताउनुभयो ।