काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान)ले ‘नेसनल आईसीटी स्कलरसिप- २०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत ७ वर्षदेखि वितरण हुँदै आएको छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गर्नुभयो ।
मन्त्री गुरुङले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई डिजिटल युगमा सफलता हासिल गर्न सीप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
क्यानले काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रममा यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।
‘नेसनल आईसीटी स्कलरसिप’ ले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जलानले जानकारी दिनु भयो । साथै, 'फिमेल मेरिट आईसीटी स्कलरसिप'अन्तर्गत प्रत्येक प्रदेशबाट ४ जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने 'आईसीटी मेरिट स्कलरसिप' अन्तर्गत प्रत्येक प्रदेशबाट ३ जना गरी २१ जनाले छात्रवृत्ति पाउनेछन् ।
छात्रवृत्ति संयोजक एवं क्यानका निवर्तमान अध्यक्ष रणजीत पोदारले विद्यार्थीलाई व्यावहारिक सीप हासिल गर्न उद्योगसँग सहकार्य गरिएको बताउनुभयो ।
क्यान र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड १३ लाख १ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।
छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।